अर्को जुनीमा पनि म “म” नै हुन पाऊँ
नभए म
आफूभित्रको ” म” छोड्दै जन्मिएर अन्मिन कहाँ पाउनु
असहज परिवेशमा हुर्केका डरको घर कसले बनाउनु अन्तरकन्दमा उब्जिएका कैयौँ प्रश्नहरू गर्भमै तुहाउँदै
जीवन बन्डाको खण्ड खण्ड अध्याय कसले लेखाउनु
अर्को जुनीमा पनि म “म” नै हुन पाऊँ
किनकि यो जुनीमा ‘मेरा’,
नितान्त मेरा, चाहना‌ हुर्किन नसक्नुको बहाना सोधिएन भने
कसमा साहस भरिएला र ? ती झुलेका चाहना खुलेर कहने
जुन आधासँग समान छैनन् र मेल खाँदैनन्
तिनको प्राण लुटिएको, अस्तित्व मेटिएको कसले बक्ने?
अर्को जुनीमा पनि म “म” नै हुन पाऊँ
नभए म तिमीजस्तै
आत्ममुग्ध बन्दै त्याग तोड्न र समर्पण  छोड्न लागे
दबाइएका स्वतन्त्र भावनाको कामना निरपेक्ष जागे
कसरी चल्छ र संयुक्त दृष्टिबिनाको  यो सृष्टि
श्रेष्ठको दौडाहामा एकोहोरो जीवन दौडन लागे
अर्को जुनीमा पनि म “म” नै हुन पाऊँ
तबसम्म तिमी र मैले
आधा आकाश छेकिरहेका पर्खालहरू फोर्न सक्नुपर्छ
दुई आधा मिलेर एक बनेको यथार्थ स्वीकार्न सक्नुपर्छ
यथार्थ स्विकार्ने आँट र साहस  जुटाउन नसक्नेहरूको
खोक्रिएको  बाहिरी आवरण मिलेर चिथोर्न सक्नुपर्छ
त्यसैले चाह छैन  पृथक्  भएर फेरि उस्तै जिउँ
यो अर्को र हरेक, हरेक जुनी म “म” नै हुन पाऊँ
बलेटक्सार, गुल्मी
हाल चन्द्रागिरी १५, काठमाडौँ।