तुफानी धुँवाको मुस्लोमा
रनभुल्ल, व्यग्र व्यस्त त्यो बादशाह
आज अनायास टक्क अडिएको छ
ठीक बाह्र बजेको घडीको सुई झैँ
शान्त !
अनेक सृष्टि र विनाशका बेपर्वाह
धुँवाको मुस्लोलाई जितेको त्यो
आज कछुवाले झैं शरीर लुकाएको छ
मुख छोपेको छ
नाक अँठ्याएको छ
बम र बारुदको मुस्लोसँग पौँठेजोरी खेलेको ऊ
आज फगत
हाच्छ्यूँसँग डराएको छ
कैयौँ युवतीको चुम्बन लुट्दै
मुस्कान र आलिङ्गनमा टाँसिएको त्यो
कामुक महामानव
आज
चुम्बन, आलिङ्गन र आस्वादनदेखि बिल्कुल टाढा छ
सप्तर्षिको हारमा रमाउने ऊ
आज ध्रुवतारा बन्न खोजेको छ
मान्छेका टाउकामा टेकेर विश्वविजयमा
निस्केको त्यो युद्धपिपाषु अविजित महायोद्धा
वृद्ध, रोगी, आशक्तदेखि डराएको छ
फगत एक हाच्छ्युँदेखि चार कोस टाढा कुदेको छ
कयौँ कर्फ्यु र काँडेतारको बार तोडेको त्यो
अनेक हुकुमप्रमाङ्गी फरमान जारी गर्ने
महासम्राट आज
ढोकाको चुक्कुल खोल्न डराएको छ
उसका हात खुट्टा लगलग कामेका छन्
अनुहार मास्कले डामेका छन्
सोचमग्न छ
उसलाई नाफा र घाटाको जोडघटाउले अझ सताइरहेको छ
र त सोच्दै त
बम र बारुदको लगानी अब मास्क, टिस्यु र ट्वाइलेट पेपरमा गरूँ !
उसलाई थाहा छ
दोस्रो विश्वयुद्धका ब्रिटिश लडाकुहरू तीन टुक्रा ट्वालेट पेपरमा प्रति दिन आहाराको गुजारा गर्थे
अमेरिकीहरू प्रति लडाकु बाइस टुक्रा प्रति दिन हजम गर्थे
जति बेला बम र बारूद निकै पड्किन्थ्यो
र त त्यस्तो थियो
आज केही पड्किदैन त्यसैले यस्तो छ
शीतयुद्ध भन्दा मन्द छ
मन्दताभित्र अनौठो गन्ध छ
यही बन्दभित्र षड्यन्त्रका अनेक सिद्धान्तहरू प्रतिपादित हुँदैछन्-
अक्टोपसका खुट्टाजस्ता
मन्थराका कानेखुसी जस्ता
दुनियाँलाई अल्मलाउन
संशयको विकराल वर्तमानमा
अनिश्चित भविष्य छ
त्राहि-त्राहि-
तर
सधैँ-सधैँ षड्यन्त्रका अंकगणितमा भाँचिने उसका औँलाहरू
आज बिल्कुल निर्मल छन्
निरन्तर धोइरहिएका छन्
सधैँ-सधैँ मृत्युञ्जय उसका लालसा आज पलपलमा
मृतप्रायः छन्
निराशाले निथ्रुक्क भिजेका छन्–
त्यो अविजित बादशाह
आज नजरबन्दमा छ
अरूसित होइन
आफ्नै श्वास-प्रश्वाससँग डराएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।