दुःख कष्ट सहेरै पनि
सुत्केरी व्यथाले च्यापेकी मेरी आमाले मलाई जन्माएकी।
बस त्यतिबेलै हो
रगतले लतपत भएका मेरा आँखाहरूले
मेरी आमाको कष्टकर अनुहार देखेको ।
म जन्मँदा जन्माउँदै गर्दाका उनका पीडाहरू
खुसी बनेर साटिएका थिए अरे
मेरी आमाको अनुहारमा
बस त्यतिबेलै हो
मेरा कलिला औँलाहरूले
मेरी आमाको ममता महसुस गरेको ।।
मलाइ ठ्याक्कै थाहा छैन
म सानो छँदा स्कुल जाने बेलामा
पुरानो च्यातिएको झोलालाई
नयाँ सियो धागोले सिलाउँदै गर्दा
उनले कतिपल्ट भनिन् होला??
पछि मेरो छोरो ठूलो मान्छे बन्छ भनेर ???
हरेक वर्षको त्यो दसैँ
छिमेकमा खसी काटिरहँदा
पुलुक्क मेरो अनुहार हेर्दै
तिमी रुने गर्थ्यौ
जसरी
बाले म सानो छँदा
तिमीमाथि सौता हाल्दा
कैयौँ दिन रोएकी थियौ ।।
त्यो दसैँ
जब आमा तिमीले मलाई
टीका लगाउनु अगाडि
बाको बाटो हेरिरहेकी हुन्थ्यौ
जसरी
पुरानो लुगा लगाएर
आफ्ना बाले किनिदिएको
नयाँ लुगा लगाएका साथीहरूलाई
म हेरिरहेको हुन्थेँ ।।
तर आमा
आज म सहरका व्यस्त गल्लीहरूमा
तिम्रै रक्तकोषिकाबाट बनेको शरीरले
आफ्नै सपना बेचेर
आफैँ मात्र छाक टार्ने गर्छु ।
आमा
म सानामा बिरामी हुँदा
तिम्रा मायालु आँखाहरू
कति रात निदाएनन् होला?
तिमीले आधा पेट खाएर
मलाई अघाउँदा पनि
कोखाई – कोखाई अन्तिम गाँस भन्दै कोच्याएको
सम्झना सम्मन गरी
हरेक दिन हरेक छिन्
म आफूले आफैँलाई मात्र
खुसी खोजिरहेको छु ।।
आमा
तिम्रो आँखै रसाएर चुहिने आँसु
अझै उसै गरी बगिरहँदा
तिम्रै रगत पोतिएर बनेका
मेरा आँखाहरूले
कति चाँडो तिमीलाई बिर्सिसकेछन् ।।
मलाई हरेक पल मेरो बाटो हेर्दै
पर्खिरहेकी तिमीलाई भेट्न
जुर्ने गर्छन् मेरा थोरै समयहरू
तिमी अझै उस्तै गरी
दुःखसँग समय साटिरहँदा
तिम्रै रगतले बनेको मैले
तिम्रो भार थेग्न नसक्ने हुँदा
कहिलेकाहीँ लाग्छ आमा
बरु म नजन्मिएकै भए हुन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।