अजित धिताल (चेतन)

एक साँझ 
तिम्रो नजरमा मेरा नजर
अनि
मेरो नजरमा तिम्रा नजर
जुधिरहेका,मानौँ
माघे सङ्क्रान्तिका दिन जुध्न लागेका
दुई गोरुका आँखा  टकराव खेलिरहेका छन्।
हो,त्यहीँ साँझदेखि
म तिम्रो दिलमा बसेँ या बसिनँ
तर
तिमी मेरो दिलमा बस्यौ
 आहा ! त्यो साँझ
कसरी वर्णन गरौँ त्यो साँझलाई
जुन साँझले
दुई अन्जान प्रेमी प्रेमिकालाई बाँधेको थियो।
तिमी कराउँदै थियौ कच-कच गरेर,
आफ्ना भाइबहिनीलाई।
त्यही समयमा छिरेव म,त्यो आँगनमा  टक-टक गरेर,कराउँदै असिस्टेन्टलाई।
ठोकियो ती नजर मेरा नजरमा एक निमेष नहल्लीकनै,
लजायौ तिमी एक वचन नबोलीकनै,
निहुरिरह्यौ त्यसपछि,
म तिमीलाई नै हेरिरहेँ यसपछि।
आफ्नै असिस्टेन्टले बोलाएको सुनिनछु मैले,
जसरी तिम्ले आमाले बोलाएको सुनिनौ,
तिमीलाई जसरी दिदीले झसङ्ग बनाएर आमाले बोलाएको खबर सुनाइन्,
त्यसरी नै मेरो असिस्टेन्टले मलाई झसङ्ग बनाएर सोध्यो
“बेहुलीको बहिनीको लेगङ्गा नाप्ने हैन?”
 सायद,
तिम्री आमाले मलाई भेट्नु भन्न बोलाउनुभएको होला,नत्र लजाउँदै इसारा गरेर किन मलाई भित्र डाक्यौ त?
जब म तिम्रो नजिक,अनि तिमी मेरो नजिक भयौँ,
मलाइ गर्मी भयो,हल्का पसिना छुट्यो
तर
तिम्रो त्यो कोमल शरीर पसिना सुकेपछिको जस्तै गरी
सिरिङ काप्यो।
फित्तासहित मेरा हात तिम्रो पुष्ट छातिमा भएकाले अज्ञानी हुनै सकिनँ।
तिम्रा अङ्ग अङ्गको नापो लिँदा पनि तिमी चुप थियौ,
“कतिको बनाऊँ” भन्दा इसारा गर्थ्यौ,
म त तिम्रा इसारा काफी बुझ्न लागिसकेको थिएँ।
एकैपल्टमा,एकै झल्कोमा।
रङ्गिएको,चङ्गिएको,झल्किएको,उज्यालिएको
त्यो तिम्रो दरबार हेर्दा आफ्नो मनमा,
यतै ससुराली बनाए,
साला,सालीको निर्माणमा समय लागेन
सम्झिएँ त्यो ढोकाबाट बरियातसहित म लजाउँदै छिरेको,
तिम्ले बहिनीका साथ लजाउँदै बार्दलीबाट हेरेको।
म त्यहाँसम्म पुग्नै लागेको थिए,
जहाँ तिमी घुक्क घुक्क गर्दै बाबा आमासँग बिदा लिएर मेरो हात समाउँदै थियौ।
जब हात समायौ म झसक्क झस्किए,
कसैले भन्यो “लाटी दिदी!”
एक्कासि हेर्न पुगेछु त्यो तिम्रो अनुहार,
त्यो अघिसम्म लाजाएको मुहार,
तिम्रो मनमा भएको छुट्टै गुहारले
गर्दा आँसु भरिनै लागेको त्यो अनुहारको आँखा,
हेर्दा हेर्दै
एक्कासि हरायौ तिमी,
जादूको छडीले लुकाए जस्तै गरी।
बस्,यति याद छ तिम्रो हात तिम्रै आँखामा थियो
हराउने बेलामा।
सधैँका लागि हरायौ तिमी।
फेरि भन्छु
जुन साँझले
दुई अन्जान प्रेमी प्रेमिकालाई एक्कै छिनका लागि बाँधेको थियो।
धुलिखेल ११,काभ्रे