चिच्याउँदा चिच्याउँदै
आगाझैँ आक्रामक प्रश्नहरू
हजुर ! चिसा भइसके/निर्जीव भइसके
तथापि मेरो अपमानित इतिहासले
यसरी मलाई प्रश्नहरू ओकलिरहन बाध्य बनाउँछ–
ए धर्मान्ध छुत !
तिम्रा धर्मका पानाहरूमा बाहेक
कहाँ देख्यौ तिमीले
मान्छे पैँतालाबाट जन्मेको अप्राकृतिक दृश्य?
परीका तिलस्मी कथाहरूमा
ढुङ्गो छोएर सुन भएजस्तो
कहाँ देख्यौ तिमीले
पानी छोएर मैले पत्थर भएको?
यद्यपि
जन्मैले छुत अछुत बनाउने
यी अप्राकृतिक व्यवस्थाक्रमहरूले
गैर-मानवको निर्मम सूचीमा राखेको
म त्यही कथित अस्पृश्य हुँ/शुद्र हुँ
अरे ! तिमी त
एक्काइसौँ शताब्दीको सभ्य मान्छे
प्राचीन ती
आदीवासी रामापिथेकसहरूको
असभ्य, अव्यवस्थित बस्तीमा
को थियो छुत? को थियो अछुत?
ए कथित छुत मान्छे !
तिमीसँग नभएको जवाफ मागेर
कतिपटक तिमीलाई नाजवाफ बनाऊँ?
आऊ, म तिमीलाई प्रेम गर्छु
मेरो प्रेमिल स्पर्शमा
कतै मुर्ती भैगएछौ भने तिमी
मेरो उत्पीडित आत्माको कसम
त्यस उप्रान्त म तिमीसँग प्रेम गर्ने दुस्साहस गर्ने छैन
त्यसैले ए छुत भनिने मान्छे
आऊ, हामी एउटा परीक्षण गरौँ
म तिमीलाई छोएर हेर्छु
आऊ, म तिमीलाई प्रेम गर्छु !
कोहलपुर-११, बाँके
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला