प्रेम नेउपाने

एक हुल गौँथली
बसाइँ सर्दैछन्
आकाशभरि छरिएर नयाँ ठेगाना खोज्दै खोज्दै
नमिले पछि
पुरानो गाउँमा
हावापानीको तारतम्य।
नयाँ मुलुकमा
नयाँ आशा लिएर
भविष्य रङ्गाउन
आफ्नै मेहनतमा
एउटा अटुट विश्वास बोकेर
परदेसिए अब
अर्कै कर्मभूमि ताकेर।

हिजोसम्म उनिहरू
मेरै घर छेउमा नाचिरहन्थे
अनि गाइरहन्थे
नयाँ नयाँ भाकामा
जिन्दगीका रमाइला गीतहरू
अनि म सुनी रहन्थेँ हेरिरहन्थेँ
आँगन डिलमा बसेर ती दृश्यहरू।

मैले मेरै मपाइँपन देखाउँदै
भित्री आँखा चिम्म गरेर
आफ्नै स्वार्थ खातिर
निर्ममतासँग काटिदिएँ
घुरेनका अम्बक नास्पाती र केराका झ्याङहरू
केवल अनि केवल
एउटै माघको जाडो कटाउन।

देखिनँ मेरो बाह्य चक्षुले
सृष्टिका सुनौला सृजनाहरू
भ्रष्ट बनेका मेरा सोचाइहरू
उजाड पारेर आफ्नै घुरेन
म आफैँलाई राजा सम्झिरहेँ।

हिजोआज
न गौँथली छन्
न अम्बक नास्पाती र केराका झ्याङहरू छन्
न माघ छ न जाडो छ
न आँगन छ न घुरेन छ
यहाँ केवल म छु
फगत एक्लो छु
अनि आफ्नै गलती र दोषहरूले
परिपूर्ण छु।

राउते रुम्तेक
सिक्किम