गुलजारलाई वास्तवमै कुनै परिचयको आवश्यक छैन । गुलजार उनको नाम नै काफी छ, हिन्दी सिनेमा, गीत–सङ्गीत र साहित्यलाई प्रेम गर्नेहरूका निम्ति । यद्यपि उनी जन्मँदै गुलजारको रुपमा जन्मिएका भने होइनन् । उनी जन्मिएका हुन्— हालको पाकिस्तान स्थित दिना भन्ने ठाउँमा । उनको परिवारले उनलाई दिएको नाम थियो, सम्पूर्ण सिँह कालरा ।

मुम्बई आएपछि गुलजार भएका उनले गुलजार भएपछि प्रशिद्धि, नाम र इज्जत सबै कमाए । फिल्मफेयर एवार्ड, राष्ट्रिय एवार्ड जस्ता थुप्रै महत्त्वपूर्ण एवार्डहरू थुप्रै पटक पाएका उनको पोल्टोमा गीत लेखनीको लागि विश्वप्रशिद्ध एवार्ड ग्य्रामी एवार्ड पनि छ ।

निकै धेरै प्रशिद्ध गीतहरू लेखेका उनले निकै धेरै प्रशिद्ध सिनेमा बनाए । कथा पनि उति नै धेरै लेखेका सिनेमामा पटकथा र संवाद पनि उति नै लेखेका थिए । यसरी जुन क्षेत्रमा हात लगाए त्यसैमा ठूलो प्रशिद्धि कमाएका उनका कवितामा भने साना–साना कुराहरूमाथिको उनको गहिरो साँच पढ्न पाइन्छ । सम्बन्धहरू, सम्बन्धहरूको तितोमिठोपन, प्रकृतिलाई अझ गहिरोसँग बुझ्न पनि उनको कविता पढ्न आवश्यक छ ।

 

क्लोज अप

हरियो मुहार उसको
पहेलिएको छ दुईदिनदेखि
छुँदैपनि हावाको झोँकाले, काम्न सुरु गरिहाल्छ ।

जुन रुखमा झुन्डिएको छ
डुबिसकेको छ आधा, बाढीको पानीमा
बढ्नेछ अझै कति पानी, थाहा छैन

त्यो एक्लो पत्ता
रुखलाई भनिरहन्छ तर
तिमी नडराऊ…. म छु नि
तिमी नडराऊ…. म छु नि।।

 

मेरो नाम

यतिका मान्छेहरूमाझ भन्नू आँखाहरूलाई
यति साह्रो यसरी नबोल्ने गर्नू !

थाहा पाउनेछन् मेरो नाम मान्छेहरूले !

 

(अनुवादक सुदीप पाख्रिन २०२८ साल असोज १९ मा कुमारी मोक्तान र कृष्ण पाख्रिनको कोखबाट धरानमा जन्मिनुभएका हो । उहाँ कलरव, धरान तथा कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य हुनुहुन्छ । उहाँका दुई कविता संग्रह ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने चौबाटो’ प्रकाशित छन् । उहाँ कृष्णभूषण बल युवा सिर्जना पुरस्कार २०७५ द्वारा सम्मानित हुनुहुन्छ ।)