म फगत एक ढुंगा
हे मान्छे
शायद भगवान्ले तिमीलाई बनाए
तिमीले त मलाई भगवान् बनायौं
घन र छिनाले कुटीकुटी
तिम्रो सपनामा
आलस्य फुलेको एक प्रतिमूर्ति
मानौँ आरनमा जल्दै रुँदै गरेको फलामझैँ
म डराउँदै डराउँदै काँप्दै
कतिखेर तिम्रो कल्पनाको
तिम्रो अहङ्कारको
भगवान् बन्न पुगेछु, थाहै भएन ।
अनि तिमी भन्ने गर्छौ ढुङ्गा जस्तो मन ।

कति माया गर्छौ हँ तिमी मलाई ?
कति पुज्छौ ?
कति सिंगार्छौ ?
कति सजाउँछौ ?
कति ढोक्छौ ?
अनि रुन्छौ मेरा अगाडि गिड्गिडाउँदै
मेरो पाउमा शिर ठोकीठोकी
जीवनभर मागिरहन्छौ
आशा र भरोसाको सारङ्गी रेट्दै
कहिले जून माग्छौ त कहिले तारा माग्छौ
कहिले सुन माग्छौ, त कहिले नुन माग्छौ
कहिले भीमझैँ शक्ति माग्छौ
कहिले उर्वशीझैँ रुप माग्छौ
मात्र मागिरहन्छौ, बग्दै गरेको अविरल नदीझै
कति दिउँ म तिमीलाई ?
नदी पनि एक दिन बग्न छाड्ला बरु
सके त सिङ्गो व्रह्माण्ड दिने थिएँ
फगत ढुङ्गा भएर पो !
मान्छेजस्तो मन त कहाँ हुन्छ र !

हो, म फगत एक ढुंगा
हिजो खोलामा पानीका छिटासँग जिस्कन्थेँ
वन बगैंचामा मेरा शरीरमाथि
खसेका अनगिन्ती फूलहरु चुम्थे
कहिले सडकमा निदाएका
तिम्रा खुट्टाहरुमा काउकुती लाउँथे
कसले भन्यो हँ तिमीलाई
मेरो शरीर रगडेर
खड्ग र तरबारमा धार लाउन
मेरो शरीरमा घन छिना प्रहार गरेर
भगवान्को स्वरुप बनाउन
अनि भन्ने गर्छौ ढुङ्गाजस्तो मन

भगवान् भएपछि त झन्
मानेको छु सबै चुपचाप
फूल र फलको सौदावाजी
जो गरेका छौ तिमीले
मेराअगाडि पशुपक्षी हत्या गरेर
रगत बगाउँदा नि सहेको छु चुपचाप
पिएको छु आगोका लप्काहरु
तर पिएको छुइन रगत
आखिर मान्छेजस्तो मन कहाँ छ र मेरो
म फगत एक ढुङ्गा ।