त्यो आदिम अभ्यस्त कालदेखि
विशालता बिछ्याएर बगर बाँचिरहेछ
बूँदहरू बटुलिँदै बगर टेकेर
सागर पुग्छन्
सागरभित्र पनि त नदेखिएको विशाल बगर छ
छैन र प्रिय ?

फोहोर प्रदूषण थिग्राएर बगरमा
कञ्चन पवित्र सागर बन्छन् बूँदहरू
जो आफू हुनुमा गौरव गर्छन्
जो अरूको पीडा बुझ्दैनन्
प्रेम र संवेदनाले बनेको मन बुझ्दैनन्
हृदय टुक्राएर गरेको त्याग बुझ्दैनन्

के ढुङ्गा गिटी बालुवा र माटाको सम्मिश्रण
मात्र हो र बगर ?

अहँ होइन ।

बूँद बग्ने बाटो हो बगर
मनहरूको घर हो बगर
हृदयको छाती हो बगर
समयले बगाई छाडेका
आदिम मूर्च्छनाहरूको डोब हो बगर
नदीका जीवनगीत लेखिने क्यानभास हो बगर

जो आफूलाई छाडेर जाने बादललाई हेरिरहेछ
जो आफूले नदेखेको सपनाको युग कुरिरहेछ

प्रिय तिमी अझै पनि सोधिरहिछ्यौ मलाई
म किन मौनतामा घोलिएर पलपल बगर भैरहेछु ?