अनुष्टुप छन्द

करूणाकर

समुद्री तटका चौडा
शिलामाथि बसीबसी,
कुर्मका झुण्डले गर्थे
वार्तालाप घुँडा धसी ।
आधा शतकका कुर्म
सोध्थे ठूलाबडासँग,
वृद्धले कहँदै जान्थे
गला खोकी मजासँग ।।

युवा कछुवाको प्रश्न –

“जिजुबा यी बडा अग्ला
तल्लैतल्ला हुने घर,
रित्तै देखिन्छ सर्वत्र
छैन कोही कतैतिर ।
फराकिला बढा लामा
चौडा मार्ग बने किन,
नदिका पुल यी चौडा
कस्का लागि बने भन ।

खिया लागे नि डन्डीमा
रेलगाडी सयौँ खडा,
जिजुबा ऊ त्यतातर्फ
वायुयान बडाबडा ।
किन देखिन्छ थोत्रेका
मक्किएका जताततै,
कुनै जीव बसेथ्यो कि
भन्नुहोस् न यता कतै ।।

बेलाबखतमा साह्रै
चर्को आवाजले पनि,
पड्कन्छ किन हो धर्ती
डरलाग्छ अझै पनि ।
बन्द पर्खाल भित्रैका
चौडा बिल्डिङका दिन,
चमेरो, स्याल मुसाका
वासस्थान बने किन ? ।।”

वृद्ध कछुवाको उत्तर-

“मान्छे भन्ने कुनै प्राणी
बस्थ्यो बाबु कुनै दिन,
बलमा बुद्धिमा तीक्ष्ण
घमण्डी पनि भीषण ।
पानीजहाज पण्डुब्बी
जम्बोजेट रकेट यी,
मिसाइल र मोर्टार
गोली बारुदको धनी ।

नासी प्रकृतिको शान्ति
धुन्धुकारी बनेसरि,
कोलाहल मचाउँथ्यो
सारा यो धरतीभरि ।
नदीका पुल यी चौडा
बाटाघाटा र मेसीन,
बन्द पर्खालका बिल्डिङ्
मान्छेकै थे कुनै दिन ।।

गुड्दथे रेलगाडीमा
उड्दथे वायुयानमा,
आफ्नै ब्रह्माण्ड हो भन्थे
बडो सान र मानमा ।
विपक्षी जनका निम्ति
प्रहार गर्न खातिर,
बन्थे पड्काउने अस्त्र
सुरुङ् बारुदका घर ।
बेलाबखतमा ऐले
पड्कने जो त शेष छन्,
हराएर गए मान्छे
विध्वंस यादभित्र छन् ।।

राखेन बाउले नाक
आफ्नै छोरी सहोदर,
दलाली मनका पिच्छे
भ्रष्टाचारी घरैघर ।
कालाकर्तुत मान्छेका
नसक्दा थाम्न विश्वले,
फैलियो रोग कोरोना
मान्छे जति सबै ढले ।।

विश्वमै फैलियो रोग
दोहोरिई घरी घरी,
बनेनन् ओखती बाबू
गए मान्छे मरी मरी ।
हराए पछि मान्छेको
अस्तित्व पृथिवीभरि
देखियो बाबुनानी यो
अचम्मको नयाँ घडी ।।

ठेगाना भरतपुर ७ चितवन