गुरु घृणा गरुन् भैगो
म गर्छु पूर्ण आदर
गुरु ज्ञान नबाँडून् भो
म लिन्छु ज्ञान सागर ।

म निषाद भएँ के भो
मेरो चेत छ क्षेत्रीय
म निषाद भएँ के भो
मेरो चेत छ ब्राह्मण ।

के मैले पढ्न मिल्दैन
ज्ञान सिक्न हुँदैन र ?
ठूलो स्वप्न कुनै मैले
देख्नसम्म हुँदैन र ?

कुरुराज्य नछोडेर
यसैका वनमा बसी
सिकिछाड्छु सबै ज्ञान
कला सिक्छु म चौसठी ।

म सिक्छु ज्ञानका शाखा
प्रशाखा र अरु पनि
मलाई कसले छोप्ने
मै ज्वाला दन्किएपछि ।

फुल्दिन्छन् वनका फूल
मल पानीविना त्यसै
हुर्कन्छन् वनका रुख
गोडमेलविना त्यसै ।

गुरु, म वनकै फूल
आफैँ फुल्दछु हेर्नुहोस्
आफैँ अङ्कुर लाएर
आफैँ हुर्कन्छु हेर्नुहोस् ।

म आफ्नै पसिना सिँच्छु
मेरा निन्ति जति परोस्
म आफ्नै रक्तले भिज्छु
रक्तकै मल खाद होस् ।

म रुन्न दुःखमा कैल्यै
आँसुको दह बार्दिन
गुनासोमा डुबी आफू
अर्काको मल बन्दिनँ ।

म जान्नँ घरमा भैगो
आमा रोऊन् कि जे गरुन्
म जान्नँ गुरुका सामु
सिकाउन् कि घृणा गरुन् ।

एकै नास कहाँ हुन्थ्यो
सामर्थ्य, यश, गौरव
प्रत्येक दिन जस्तै हो
प्रातः मध्यान्न साँझ छ ।

पालो पालो गरी फिर्छन्
दिन हाँसो र आँसुका
फूल नत्र कहाँ झर्थ्यो
फुले पुग्थ्यो सदासदा ।

जित मात्रै कहाँ हुन्थ्यो
जिन्दगीका प्रवाहमा
नदी, समुद्रले फेर्छन्
बाटा आफ्नै प्रवाहमा ।

बग्दो नदी बगिराख्दा
कहाँ बाटो थियो अघि
बग्यो पानी बन्यो बाटो
पानीकै धारमा परी ।

म पानी बनी बग्दिन्छु
बाटो खनेर बग्दछु
चट्टान जतिले छेकून्
शालिग्राम म कुँद्दछु ।

म कालीगण्डकी बग्छु
कोशी भेरी म बग्दछु
म सप्तगण्डकी बग्छु
सप्तकोशी म बग्दछु ।

गुरुको मूर्ति मै रच्छु
मूर्तिसाथ म सिक्दछु
भित्रै छन् ज्ञानका स्रोत
मबाटै ज्ञान झिक्तछु ।

एकै नास कहाँ हुन्थ्यो
सामर्थ्य, यश, गौरव
प्रत्येक दिन जस्तै हो
प्रातः मध्यान्न साँझ छ ।