गाढा नीलो पानीको मेलोडी भुलेर
म चुपचाप
हिन्द महासागरको डिलमा
आफैँ ढलेको
हेरिरहेछु ।
हिउँदको म्यापल ट्री झैँ
खङ्ग्रङ ठडिएका
आइफल टावर, बुर्ज खलिफाहरु हेर्दा लाग्छ
उभिएका सबैसँग
जीवन नहुन सक्छ ।
अक्षर नगोडेकी बुढी हजुरआमाले
उल्टो किताब पढे जस्तै
सबथोक बेठीक देखिन्छन्
खबर बनेकाहरु
आफैँबारे बेखबर छन्
र
रेडियो र टेलिभिजनहरु
अप्रिय समाचार घोकाइरहेका भेटिन्छन् |
नानीहरू
गृहकार्य गर्दैनन्
उनीहरूका मनमा
बाँसको तामा जसरी आतंक हुर्किरहेछ ।
जसरी आगोले खाएको पाँच हात लामो प्लास्टिक
पग्लिएर दुई अमलमा झर्छ
खुम्चिएर संसार
पर्खालको चार सुरभित्र साँगुरिएको छ।
बन्दीगृह घरजस्ता र
घर बन्दीगृह हुँदैछन् ।
अप्ठ्यारोमा कोही कसैको हुँदैन
अलिकति भेटी चढाएर धेरै माग्ने
भक्तजनहरू मन्दिरमा देखिँदैनन्
सायद मन्दिरबाट भगवान् पनि भागे
सडकमा गाडीहरू छैनन्
हिजोआज
सडकमा बेरोकटोक मृत्यु मात्र गुड्छ ।
विश्वासको अनिकाल बोकेर
चुम्बकका विपरीत ध्रुव बनेका मान्छेहरु
जबर्जस्ती प्रेममाथि इरेजर घोटिरहन्छन् ।
यतिबेला
बर्लिनको पर्खाल जस्तै
देशका सिमाना कमजोर भएका छन्
र सैनिक शिविरभित्र
एटम बम
भेन्टिलेटरमा अक्सिजन पिइरहेछ ।
भत्किएसँगै
न्युयोर्कको निधारमाथि उभिएको
वाल स्ट्रिट भर्चुअल ग्राफ
लाग्छ
यतै कतै कवि रिमाल गाइरहेछन्
“एक जुगमा एक दिन एक चोटि आउँछ ।”
अस्ट्रेलिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।