बिलोक शर्मा (डुवर्स, भारत)

कविता : धुवाँ

अचम्भित छ आकाश

लटरम्म उम्रिरहेछन् धुवाँहरू

लहलह बढिरहेछन्

फैलिरहेछन्

आयुका कक्षपथहरूमा…

जीवन भने कोरिरहेछ

असहाय कविताहरू

मृत्युको कलमले ।

 

आकाशभरी घर बनाएको

यस धुवाँको गन्धमा

केही फरक फ्लेभरहरू

गुजुल्टिएर बसेका छन्

यसपाली।

क्लेष/अभिमान/स्वार्थहरू

भित्र-भित्रै नि:स्सासिदैँछन्

वसन्त/शीत/बर्खायामहरू

ड्याम्म ढाकिएर मुर्च्छित छन् ।।

 

धुवाँको माथिल्लो तल्लाबाट

हेरिरहने गिद्धहरू

ढल्न लागेको सूर्यलाई

खर्लप्पै निल्छन्,  अनि

क्षणभरमै

अँध्या…रो बन्छ

गल्ली

सडक

घर

 

एक्लो बन्छ

आजको

उत्तरआधुनिक मान्छे ।

 

यस धुवाँलाई

पानी परेको पटक्कै मनपर्दैन

यसलाई त मनपर्छ भने

केवल कात्रोको गीत ।।