प्रकाश सापकोटा (डेनमार्क)

किन हुन्छ डाह मलाई

ऊ उकालो लाग्दा !

मलाई जस्तै थकान ला’को हुँदो हो

उसलाई पनि

दुखेथे होला गोडा,

चर्चराएथे होला पैताला

उसका पनि

ओह्रालो लाग्न जस्तो सजिलो

कहाँ हुँदोरहेछ र उकालो चढ्न ।

 

किन हुन्छ इर्ष्या मलाई

ऊ पहाड चढ्दा !

 

मलाई जस्तै धपेडी भा’को हुँदो हो

उसलाई पनि

फुल्थ्यो होला श्वास,

बढ्थ्यो होला धड्कन

उसको पनि

बेसीको बाटो झर्न जस्तो सजिलो

कहाँ हुँदोरहेछ र डाँडोको बाटो उक्लन ।

 

किन हुन्छ जलन मलाई

उसलाई टाकुरामा देख्दा !

 

यत्तिकै चढिन्न रहेछ उकालो

सहजै टेकिन्न रहेछ टाकुरो ।

 

डाहले थिचेर होला

इर्ष्याले च्यापिएर होला

जलनले खरानी भएर होला

म पुग्नै सकिन त्यहाँ

जहाँ पुगेर उसले

अलि अलि आस लियो

लामो लामो श्वास लियो ।