१. प्रेम

तिमीलाई म चराले जस्तै
बोलाइरहन सक्तिनँ होला
खोलाले जस्तै साउती दिन सक्तिनँ होला
न त यो बतासले जस्तै
जहिले सुकै जुनैबेला पनि
छोइराख्न सक्छु।

डा. वासुदेव पुलामी

तिम्रा घरका छाना माथि माथि
चुपचाप चुपचाप जूनले जस्तै
न त रातमा
डुलेर हेर्न सक्छु
न त बिहानै
घामले जस्तै
तिम्रा बार्दलीमा आएर पर्दाबाट चिहाउन सक्छु।

म त तिमीसित
एक कप चिया पिउन सक्छु
दुई पाइला सँगै हिँड्न सक्छु
तरवार भन्दा लाग्ने तिम्रा वचनका धारहरू
चुपचाप सहन सक्छु
जिन्दगीका कुरूक्षेत्रमा युद्धरत हामी
जित्नै पर्ने युद्धहरू
सायद हार्दै हार्दै
तर हार नमान्दै मर्नु बिर्सिदिएर बरू बाँचिदिन सक्छु।

 

२. भोकको सौन्दर्य

पोखरीका बिचमा
माछाका भुराहरू समात्न
चुपचाप उभिएर पर्खिरहेको
बकुलाको
एकाग्रता जस्तो।

आफ्नै
पसिनाको धागोले
हावा र हुरीमाझ
तुर्लुङ्ग झुन्डिएर
बुनिरहेको माकुराको
जालो जस्तो।

अर्थात्
चैते भावरमा
खोलाको बगरमा
छोरोलाई स्तन चुसाउँदै
गिटी कुट्दा कुट्दै
आमाले
फुटाइ पठाएको
बुढी औँला जस्तो।

कस्तो कस्तो।

३. उमेर

हरियो बोटमा इतरिँदै गरेका
एजीलियाको फूललाई
जसरी थाहा हुँदैन
उसको उमेर।

पोखरीमा फुर्तिसाथ
पौडिँदै गरेका माछाहरूलाई
थाहा हुँदैन
उसको उमेर।

बारीका डिल डिल
हरिया घाँस खाँदै
उफ्रिँदै गरेका
बाख्राका पाठोहरूलाई
थाहा हुँदैन
उसको उमेर।

खोँगीभित्र
चारो खाँदै थुनिएका
कुखुराहरूलाई
थाहा हुँदैन
उसको उमेर।

खुल्ला आकासमा
उडिरहेका
चराहरूलाई पनि
थाहा हुँदैन
उसको उमेर।

घरभित्र
गजधम्म भई
दाहिने देब्रे
देब्रे दाहिने
अनुलोम बिलोम गर्दै
उमेर
गन्दै बस्ने ता
तिमी र मै मात्र रैछौँ।

(सन् १९८१ अक्टोबर १२ मा दार्जिलिङको सोनादा, मुण्डाकोठीमा जन्मिनु भएका वासुदेव पुलामी नेपाली साहित्यमा विद्यावारिधि हुनुहुन्छ । कालिपद घोष तराई महाविद्यालय, बागडोगरा, दार्जिलिङमा नेपाली विभागको प्राध्यापक उहाँका मगरजाति र मगरभाषा (अनुसन्धानमूलक अध्ययन) २००९, उज्यालोका आँखा (कविता सङ्ग्रह) सन् २०१२, आधा अर्थ (कविता सङ्ग्रह) २०२१ प्रकाशित छन् । उहाँले समावेशी सङ्कथन साहित्यिक पत्रिका (सन् २०१४) र इन्द्रायण इन्द्रायण, वार्ता सङ्कलन (सन् २०१८) सम्पादन गर्नुभएको छ । सिलगडी नेपाली साहित्य संस्थानका उहाँ अध्यक्षसमेत हुनुहुन्छ ।)