manoj neupane

उसले !
दङ्ग पर्दै सोधी ,
कहाँबाट किन्यौ यो मुस्कान?
जो तिम्रो मुहारमा
फिटिक्कै सुहाएको छैन ।
मैले
त्यसैमाथि थपिदिएँ
ससाना मुस्कानका
केही दर्जन पराकम्पहरू ।

केहीबेर लडाएर ,
उसका आँखाका क्षेप्यास्त्रसँग
मेरा आँखाका भरुवा बन्दुक ,
माटोतर्फ तेर्साउँदै गर्दा
मेरो नजरको गोली !
उसले फेरि ठडाई
प्रश्नको तगारो ,
धितो चाहिँ के राख्यौ त ?

उसका नजरका क्षेप्यास्त्रको
धक्काले
कम्पित मेरा ओठहरू
थरथराउँदै बोल्छन्
गेस गर !

अप्रत्यासित हाँसो हाँस्दै
उसले भनी ,
– घर राख्यौ ?
– नाईँ ।
अझै हाँस्दै भनी ,
–बुढीको तिलहरी राख्यौ त ?
– नाईँ ।
अलिकति रोकिँदै फेरि भनी
– अँ…… आफ्नै गाडी त राखेनौ ?
– नाईँ ।
धैर्य टुटाएर ऊ बोली
– ओहो …… के चाहिँ राख्यौ त ?
म बिस्तारै बोलेँ
हिजो राति सिरानीमुनी
केही दर्जन
खुसी भेटेको थिएँ ।।