सारङ्गी ब्लुज
सुन्नुहोस् भोकको कथा
सुन्नुहोस् शोकको गाथा
यो हो सारङ्गी ब्लुज
आँसुको दहमा पौडनेहरूको
खल्लो जीवनव्यथा गाउने
सारङ्गीको तार यो
उजाड बस्ती
उजाड मनहरूको धुन यो
पहाड कन्दराका
तिरस्कृत आत्माहरूको
सामुहिक रोदन यो
सारङ्गी ब्लुज
विभेद र दलनले पिल्सिएको
निलो घाउ यो
सभ्यताको निधारबाट
युगौँदेखि बगिरहेको
नीलो रगत यो
सारङ्गी ब्लुज
पीडै पीडाको नीलो दहबाट
उडिरहेको
नीलो बाफ यो
सारङ्गी ब्लुज
बुढौली ब्लुज
रहर सबै मरे
दृष्टि कमजोर
कान बेकम्मा भए
दाँत सबै झरे
जिब्रोले शब्द हरायो
मगजले चेतना
न दायाँ कोही छ
न बायाँ
आफू आफैँसँग
पराया भइसकेको
आफू आफैँसँग
अलग भइसकेको
अनिद्रामा रात बित्छ
तन्द्रामा दिन बित्छ
बोलाउनलाई, न दायाँ कोही छ
न बायाँ
कसाइको पसलमा
मासुको थुप्रोझैँ
कहीँ पनि थुप्रनु
कुनाकाप्चा
मान्छेका माझ
कुनै मिल्किरहेको सामानझैँ
उपस्थितिको सार्थकता छैन
आफू आफैँलाई घाँडो
श्रापमा पिल्सिएझैँ
मुक्तिका निम्ति
पालो पर्खेर
बसेको जिउँदो लास हो यो
बुढ्यौली
कर्णाली ब्लुज
घरी भोकमरीले सताउँछ
घरी हैँजाले
एक पेट खान यहाँ धान उम्रँदैन
चिलगाडी आउँछ
र सडेको चामल खसाल्छ
सडेको चामलमाथि
राजनीति चल्छ
छाउपडी र छुवाछुतले पिल्सिएको कर्णाली
कुपोषणले ध्वस्त कर्णाली
घरी भोकमरीले सताउँछ
घरी हैँजाले
चिलगाडी आउँछ
र आकाशबाट औषधि खसाल्छ
औषधिमाथि
राजनीति चल्छ
यहाँ
स्कुल छ शिक्षक छैनन्
विद्यार्थी छन्
तर किताब छैन
छोरा जन्मन्छन्
लाहुर पस्छन्
दरवान बन्छन्
जुठा भाँडा मल्छन्
भारी बोक्छन्
पान चपाउँदै गाउँ फिर्छन्
चेलीबेटीको दलाली गर्छन्
छोरी जन्मन्छन्
छाउपडी बस्छन्
छोरी जन्मन्छन्
किलो ठोकिन्छन्
बँधुवा बस्छन्
यहाँ अभागी वादीहरू पनि बस्छन्
भात खानका निम्ति
गुप्ताङ्गभरि बुटको निलडाम सहेर
खुर्सानी दलिएको गुप्ताङ्ग
राजा र थानेदारहरूलाई
पस्कँदै नाचिरहन्छे
आफ्नो वादीले बजाएको मादलको तालमा
बज्ने कर्णाली
ठमेल ज्याज
गाँजा र चरेसको धुवाँमा
डिस्को बारहरूको रङ्गीन प्रकाशका झरनामा
चिनियाँ पुतली
अमेरिकन परी
नाचिरहन्छन् त्यहाँ
हाउडे पबहरूको रक एण्ड रोल
नशालु चक्की र रक्सीले मातेर
बेहोस युगलाई ओसारिरहन्छ रिक्सा
वसन्तपुर — ठमेल
ठमेल — झोँ छेँ
‘जात्रा’को ज्याजमा बज्ने ड्रमको आवाज
तालमा ताल मिलाएर
स्वदेशी
विदेशी
चक्कर लगाउँछन्
ज्याथा, थँहिटी
पकनाजोल, कालधारा
सातघुम्ती र नरसिंह चोक
जिम मोरिसन र लेडी गागाको
मुकुन्डो पहिरेर
हुलका हुल कँकचाकाली
र ख्याकहरू
शिवजीको मेल्टिङ पटभित्र
चम्कन थाल्छ साँझ ओर्लिएपछि
गणेश हिमालझैँ
हट आइस स्ट्रिप टिज
न्यू अर्लिन्स ज्याज
सनराइज मसाज
र सुस्ताउँछ गन्धर्वको ब्लुज
हेलो सर ! केटी चाहियो ?
हिजरा चाहियो ?
रिक्सा चाहियो ?
ट्याक्सी ?
वान टु थ्री फोर
वान टु थ्री फोर
रिक्साको हर्न
‘जात्रा’को हर्न
निकालिरहन्छ लतपतिएको धुन
ठमेलमा
असन गोस्पेल
अन्धकार डुब्छ रानीपोखरीमा
अन्नपूर्णको शिरमाथिबाट
ओर्लन्छ यौटा भँगेरा
र चारो टिप्छ असन चोकबाट
टुप्लुक्क आइपुग्छन्
इचङ्गुबाट डोकोभरि फूलहरू बोकेर
फूल व्यापारी
किलागलदेखि भौँतारिँदै
कुनै बहर
यतै आइपुग्छ
मच्छिन्द्र बहालभित्र
भजन गुन्जन्छ
……..
घर घरका ढोका खुल्छन्
टुँडिखेलमा रातो सूर्य परेड खेल्छ
काल भैरव
आकाश भैरव
सधैँझैँ केही माग्दै
मुख आँ गरिरहन्छन्
हनुमान् ढोकाका परेवाहरू
टपाटप मकैका दानाहरू
चुच्चाले टिप्न थाल्छन्
भरिया, व्यापारी, गृहिणी
सबको घुइँचो लाग्छ
मानौँ कुनै कुम्भमेला हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।