आकाङ्क्षाका मजबुत संरचना खडा गरी
अनायासै तीता वास्तविकता हुकाइरहेछु
निरङ्कुशताको कालो साम्राज्यमा
बेथितिको चाङ लाएर निर्लज्ज भई
उदाङ्गो कठपुतलीको ढ्वाङ रचेको
देख्दा गणतन्त्र पनि अचेल फगत
फगत लाग्दछ ।
श्रमका खेती गर्नेहरूलाई
भ्रमका खेती गर्नेहरूले,
मेनपावरको हाटबजारबाट
हरियो पासपोर्टको नाम्लो लगाएर
दिनहुँ चौपायाजस्तै मोलमोलाइ गरेर
पातविहीन ठुटाजस्तै झाडीका
ती खाडीहरूमा बेचिरहेका छन् !!
संसद्को त्यो अश्लिल आहालमा
लाचारपनको हिलो छ्याप्दै,
हाम्रा वस्तुभाउ जोत्न लगिदेऊ भनि
विलम्ब गरिन्छ !!
अनि गणतन्त्र फगत फगत लाग्दछ ।
उत्साहको पहाड चढ्दै,
आशाको बिस्कुन सुकाउँदै,
आकाङ्क्षाको पखेटा उर्मादै,
जवानीलाई लिलाम गरी,
जिन्दगीलाई बन्धकी राखी,
रगत पसिनाको गण्डकी बगाई,
गुलामीको खेती गर्दै
उमारेको रेमिट्यान्समा नङ्ग्रा,
डाहाले लुछ्न नैतिकता फाली
नाङ्गो ढुकेर बस्छन् !
र त गणतन्त्र फगत फगत लाग्दछ ।
अन्योलमा छु विधिको शासन हो कि ?
बिँडीको शासन हो ….?
कहिले ७० करोडको धुवाँ उड्दछ
कहिले सरकारी जग्गाको धुवाँ उड्दछ
कहिले क्यान्टोनमेनको धुँवा,
कहिले एम.सी.सी. को धुवाँ
त कहिले इट्टाभट्टाको
जताततै धुवैँ धुवाँ त्यसैले होला !
नेपाल प्रदूषणको पहिलो सूचीमा
रेकर्ड बनाउन सफल भएको !!
अहिले ढलेको धरहरा पनि उठेको छ रे !
तर त्यो अग्लो स्तम्भबाट,
खाडीबाट रातो बाकसमा झरिरहेका
सुगन्धविहीन फूलहरू देखिदैनन होला !
गरीबहरूको बासी सपनाहरू
बरफको निगरानीमा
विमानस्थलमा थन्किएको देखिदैनन् !
देखीदैनन् विकास अनि समृद्धिका
फराकिला झण्डाहरू
देखिन्छन् त केवल पार्टीका झन्डाहरू
वरिपरि झिँगाका झुण्डहरू !
अनि गणतन्त्र फगत फगत लाग्दछ
विभेदको खाडल खनेर,
राजनीतिको मादल बजाउनेहरू!
आकारविहीन साकार नहुने
सपनाहरूको डकार छोडिन्छ !
अनि फैलिन्छ दुर्गन्ध,
कब्जियत पेटबाट निस्किएको पादजस्तो ठुस्स … ठुस्स …
अनि गठबन्धनको घुम्टो ओढेर
समृद्धिको उडान भरिन्छ ।
अनि गुटबन्दी नामको कालो स्तम्भमा
ठोक्किएर बजारिन्छ भुईँमा !
धुजा धुजा हुन्छन् अनि
पोखिन्छन खोक्रा राष्ट्रवादहरू
फुस्स ..फुस्स .. !!
हो त्यसैले गणतन्त्र अचेल फगत फगत
लाग्दछ !!
मोहनपुर कर्मला टोल
हाल द. कोरिया



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

