चोपनारायण बन्जाडे

ठिक भन्नुभो
यो देशमा सियो नि बन्दैन
यदि बन्थ्यो त
जोडिने थे फेरा
फाट्नै दिइन्नथे सम्बन्ध
सिइन्थे उध्रन-उध्रन खोज्दा
हो,
यो देशमा सियो नि बन्दैन
तर,
को भन्छ
यो देशमा सियो नि बन्थेन ?
बन्थ्यो, बन्थ्यो र त
बाइसौँ टालाहरू , चौबिसौँ टुक्राहरू
जोडिए सग्लो बन्यो चोली
र त,
जेनतेन ढाकियो वदन
दुस्मनका भोग्या कुदृष्टिबाट ।

देशकै सूचिकारले
स्वदेशी धागालाई
भिरमौरीको मैनले
मिहिन अनि खिरिलो पारेको
धागाले खिपेको सियाले
सिएका सम्बन्धका चोला,
भोटा, कुर्ता, कमिज,दौरासुरुवालहरू
अनि
अँगेना वरिपरि
गुन्द्रीमा पलेँटी कसेर
बटुको र डवकाकासाथ
सिएका सम्बन्धहरू
झन्डै डोबहरू नदेखिने गरी
र त,
छेकिए उत्तरी सिरेटा
दक्षिणी लू
अनि
फिरङ्गीका तकनिकी र धुर्ताइँ
लडिए रण खलङ्गा , देउथल
भोटमा, अल्मोडा र नालापानीमा।

स्वदेशी सियाले सिएका
भोटा, दौरा र कमिजहरू
हिउँदमा भोटो पहाड झर्थ्यो
दौरा तराई झर्थ्यो
गर्मी लाग्दा कमिज पहाड चढ्थ्यो
दौरा हिमाल चढ्थ्यो
रहे सम्बन्ध स्वचालित
विदेशी कैँची छिर्नै सकेन
तर,
तर, अफसोस्
कसरी बड्यो दौरासुरुवालमा वडप्पन ?
कसरी चढ्यो उन्मादी ?
कसरी हुर्कियो पीडक स्वभाव ?
धागो जब जनै बनेर लगाउन थाल्यो धाक
दिन थाल्यो रवाफिलो आदेश
‘तिमीहरू मेरो खटनमा हुनुपर्छ’
दुखेसो स्वाभाविक थ्यो पीडितको
त्यसैले त
सम्बन्धका टाँकहरू छिने केही
तुनाहरू उध्रिए केही

त्यो देख्यो युराल पारीको कैँचीले
त्यो देख्यो अटलान्टिक पारीको करौँतीले
सोचेकै भयो दसगजा पारीको कतर्नीको
अहिले त
त्यो सुन्यो रे हिमालपारीको सुतेको ड्रागनले पनि
त्यसैले त
प्रवेश गऱ्यो कटारी सियोको भेषमा
त्यो आयातित सियोले
रैथाने सियोलाई
अब हुनै नसक्ने गरी
विस्थापित गरायो
कति चिटिक्कका राम्रा सियाहरू !!
चम्किला, सिलित्त परेका हाइब्रिड सियाहरू !!
प्रयोग नै हुन छोडे
हाम्रा सम्बन्धलाई दह्रो गरी सिलाउन बनेका
याँ बडेमानका सियाहरू ।

गुन्द्रीमा पलेटी मारेर
बटुको र डबकाले
आर्जन गरेका सम्बन्धहरू
उस्तै पीडाका कारण बनेका भाइभाइहरू

अर्कैले आयोजना गरिदिएका
तारे होटलका सेमिनार र चियर्समा सकिए
र त
एकले अर्कालाई पराइ सम्झियौँ
नाकका कारणले पराइ भयौँ
किनकि
सिकाइयो( तिमीहरू त एकअर्कोका दुस्मन हुनुपर्छ
तिमीहरू कसरी एउटै हो ?
जबकि
तिमीहरूको आँखा उस्तै छैन
लवज उस्तै छैन
पहिरन उस्तै छैन
कैँचीको राज चलिरहेको छ ।
कैँची, करौँती, कटारी !

के सिइन्नन् सम्बन्ध अब ?
के अब बन्दैन सियो यो देशमा ?
बन्छ
किन बन्दैन ?
रैथाने नाङ्लामा कस र तुसहरूलाई केलाउनुपर्छ
फेरि नि स्वदेशी सियाले सिएका धोक्रोमा                                                                                                                    सबै दुखकष्ट, राग द्वेषहरू राखेर मुख थुन्नुपर्छ
जलाउनुपर्छ त्यो प्यान्डोरा धोक्रोलाई
होलिकाका साथमा
अनि बगाउनुपर्छ खरानी
हाम्रा बिकाउ मनहरूको
हाम्रा पीडक स्वभावहरूको ।
अनि सिउनुपर्छ हाम्रा सम्बन्धहरू
हाम्रै रैथाने अर्गानिक सियाले ।