कविता- सनकमा दनक


मलाई लाग्छ
मजस्तो ज्ञानी गुनी
मजस्तो ऋषिमुनि
छैन कोही बिलक्ष्ण
तैपनि चुनाव अर्कै ले जित्छ
सबैले उसको झ्याली पिट्छन्
अनि,
सनक्क सनक चढ्छ मलाई
र अनि दनक्क दनक दिन्छु !!
मलाई लाग्छ
मैले जति पुस्तकहरू
तिनीहरूले के को पढेको हुनु !
मैले कम्ती विद्धान्का
नाम कण्ठ पऱ्या छु र
संस्कृत, हिन्दी र अङ्ग्रेजी
कम्ती झाऱ्या छु र
मजस्तो सागर हुँदा हुँदै
ऊ पो चर्चामा छ
अनि,
सनक्क सनक चढ्छ मलाई
र अनि दनक्क दनक दिन्छु !!
मलाई लाग्छ,
भ्रष्टाचारी अति खराब कुरो हो
किनकि उसले गऱ्यो
उसको ठाउँमा खासमा हुनुपर्ने म
म त्यहाँ नभएरै
दूधले धोएझैँ सफा चङ्गा छु
बाग्मतीको डिलमै हर हर गङ्गा छु
अनि,
सनक्क सनक चढ्छ मलाई
र अनि दनक्क दनक दिन्छु !!
साथीहरू कजायको छु
यसो उसो
लेखेको छापी दिन्छन्
बेलाबखत
अन्तरवार्ता लिन्छन् टिभीमा पनि देखाइदिन्छन् स्वयं मलाई
सनक्क सनक चढ्दा
दनक्क दनक दिन टेवा दिन्छन् !!!
