
राधिका कल्पित
जात फेरेको रहेनछ
केतुकेको पातमा लेखेको मेरो नामले
इरादा फेरेका रहेनछन्
पँधेरासम्म पुग्ने बाटाहरूले
आफ्नो असली बास्ना छाडेर अत्तर लगाएका रहेनछन्
बाटो छेउ फुल्ने चमेली र बेलीले
कोसेली बोक्न छाडेका रहेनछन् सुफो र सोलीले
यिनीहरू सब दुरुस्तै उस्तै रहेछन्
ममात्रै पो फेरिएर सहरिया भएछु
मुजा पार्न नमिल्ने फरिया भएछु ।
आफ्नो टोपी बिर्सेको रहेनछ घरको छाप्रोले
आफ्नो स्वाद फेरेको रहेनछ ऐँसेलु र चुत्रोले
आफ्नो अनुहार फेरेको रहेनछ बाटामुनिको पोखरीले
धन्न मोटरबाटो हुँदै सहर छिरेको रहेनछ जूनकीरीले
आफ्नो भेष बदलेको रहेनछ प्याउँली र उन्युले
आफ्नो स्वाद पस्कन बिर्सेको रहेनछ कसौँडी र पन्युँले
उनीहरू त जस्ता थिए उस्तै पो रहेछन्
ममात्रै पो फेरिएर सहरिया
आफ्नै रहरको कहर बोक्ने भरिया भएछु ।
उसैगरी हाँसिरहेथ्यो धौलागिरि हिमाल
उसैगरी फुलेथ्यो कपास र सिमल
उसैगरी मच्चिरहेथे फड्के र पुलहरू
उस्तै उत्ताउला थिए तोरी र फापरका फूलहरू
तिनीहरू सब दुरुस्त उस्तै उस्तै रहेछन्
आफ्नै पाखामा मोजमस्तीमै रहेछन्
म पो यता आई सहरिया भएछु
डढेलो लागेको खोरिया भएछु ।
केश फिँजाई नाचिरहेथेँ अम्रिसाका घारीहरू
फुलबुट्टे सारीमा थिए कान्ला र बारीहरू
फुक्का फुक्का कुदिरहेथेँ दरम र कालीहरू
रोधी र असारेमा नाँचिरहेथे गैरीखेतका बालीहरू
उसैगरी पन्चेबाजा बजाउँथे डाङ्रे र तितिराहरू
उसैगरी बजिरहन्थे मुर्चुङ्गा र पिपिरीहरू
सबै सबै आ-आफ्नै मस्तीमा रहेछन्
ममात्रै पो मुग्लान पसी सहरिया भएछु
खुसीको ढाकर गर्ने करिया भएछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

