इन्दिरा चापागाइँ

कोखदेखि काखसम्म
निस्वार्थ मायाँ ममता भर्यौ
जति ठुलो भए पनि म
सानै ठानी रखबारी गर्यौ
खरानी छरेर अगेनाका छेउमा
औला समाई क ख लेख्न सिकायौ
मेला पर्म जाँदा पाएको खाजा
पोल्टामा हालेर मेरा लागि ल्यायौ
खर्याक्(खुरुक गर्थे भाँडा र पुन्यू
मलाई अघाएर तिमीले खै कति खायौ
विहानदेखि राति सम्म दशनङ्ग्रा खियाई
सन्तानको भविश्यको रुपरेखा कोर्थ्यौ
मलाई एकजोर नयाँ लुगा फेराइदिन
तिमी बर्षौ पुरानो झुत्रो बेर्थ्यौ
जीवनयात्राका उकाली ओराली
खाली खुट्टा कति कुद्यौ
तातो घाममा कति पिल्सियौ
बर्खे झरिमा कति रुझ्यौ
हृदयमा घाउ त तिम्रो पनि थियो होला
सन्तानलाई नदेखाई कति आँशु पियौ
सद्भाव सत्चरित्र र आत्मसम्मान
स्वाभिमान र पौरखको पाठ सिकायौ
संसारका कुनै शिक्षालयमा नपाउँने
तिमी नै अनुपम गुरु थियौ
मेरा पीडा र दुखको मल्हम
तिमी साक्षात भगवान थियौ
हृदयमा हरपल गुन्जिरहने
प्रेमको मीठो धुन रह्यौ
मेरो शीरभरी आशिर्वाद भरेर
जीवनबाट विश्राम लियौ
मैले केही गर्न नसक्दै
चीर निन्द्रामा तिमी सुत्यौ !!!

तिम्रो आत्माको चीर शान्तिको कामना !!
बैकुण्ठमा बास होओस् हार्दिक श्रध्दांजली आमा !!

 

सभापोखरी १ संखुवासभा।