म पागल जस्तै हुन्छु, मेरी आमा
मन र नजरले तिमीलाई नै खोज्ने गर्छ
तिमीलाई समीपमा नपाउँदा
दुनियाँलाई झिलमिल लाग्ने यो धर्ती
मलाई बेकार लाग्छ
मेरो माइतीघर उजाडियो आमा
तिम्रो बिदाइसँगै
बाबाको सहयात्री गुम्यो, खुसी गुम्यो,
हरेक गाँसको मिठास गुम्यो
माइतीघरको कुलको धरोहर खस्यो
हरेक दिन भगवान पुजेर
नथाक्ने तिमी, मेरी आमा
कति छिट्टो भगवानको प्यारो बन्यौ
रिडीको बसाइ तिम्रो
बिहान उठी हरगंगा भनी नथाक्ने तिमी
मेरो अगाडि त्यही कालिमा तिम्रो समाधि बन्यो
म निरीह भएर मूकदर्शक बनेँ
काली आफैँ बढी आएर तिम्रो अस्तु लैजाँदा
सबैले तिम्रो प्रशंसा गरी रहँदा
बा छाती पिटेर रोइरहनु भयो
तिम्रो वियोगमा
कसरी आँखा चिम्लिन सक्यौ र मेरी आमा
कसरी हामीलाई एक्लै बनाएर जान सक्यौ ?
मन कसरी सम्हालिन्छ र आमा
तिम्रो माया
तिम्रो सहारा
तिम्रो स्पर्श
तिम्रो काख
तिम्रो समीप सबै लुटियो
सधैँ अगाडि देखिने मेरी आमा
आजकाल सपनीमा मात्रै किन ?
अनि हेर्छु आकाशमा तारा
कुन चाहिं मेरी आमा भनेर ?
साँच्चै म पागलजस्तै भएकी छु मेरी आमा
तिम्रो अभावमा
अँध्यारोमा छु मेरी आमा
तिम्रो आशीर्वाद छ, छैन
तिमी आफैँ जान
तिमीलाई थाहा थियो,
कहीँ खोजेर पाइँदैन आमा
छोडेर किन गयौ ?
जब तिमी समीपमा हुन्थ्यौ
पत्तै नपाई मुस्कुराई रहन्थेँ
अहिले थाहै नपाई रोइदिन्छ मन
तिमीले सन्तानको परिभाषा दिँदा
म त्यसको उदाहरण बन्ने रहर मेरो
बीच बाटोमा नै सक्काई दियौ
समयको आफ्नै रफ्तार हुँदोरहेछ आमा
बितेकैछ
आमा यो जुनीमा आधा बाटोमै छाडी गयौ मेरी आमा
अब हजार जुनी हजुरकै कोखमा जन्म लिन पाऊँ
मेरो मनका बह सुनाउनु छ आमा
अनि तिम्रो ऋण तिर्नुछ मेरी आमा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।