साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आमा

 

मुक्ति गौतम (क्यानडा)

करेसामा फूल फुल्दा

तिमी झैँ लाग्छ

आकाश खुल्दा

तिमी झैँ लाग्छ

हावा डुल्दा यता

तिमी झैँ लाग्छ

तिमी गएर टाढा

झन् यतै भएकी छौ आमा!

 

 

मीठो पाक्दा

बाडुली लाग्दा

यतै झैँ लाग्छ,

छोरी देख्दा

केही लेख्दा

यतै झैँ लाग्छ

तिमीले छोडेर सबै

मेरा लागी जोडेर गयौ आमा!

 

 

पानी पर्दा

हिउँ झर्दा

यतै झैँ लाग्छ,

पात सर्दा

दुख टर्दा

यतै झैँ लाग्छ,

तिमी तारा भएर

मेरा लागि

सारा भएकी छौ आमा!

 

 

सकिँदै सकिन्नौ तिमी

छेकेर छेकिन्नौ तिमी

न सुक्छ्यौ कहिल्यै

न लुक्छ्यौ तिमी

तिमि अग्लो रेखा

तिमी सग्लो जून

लक्ष्य तिमी अनि पन्थ

तिमी जननी अनन्त!

 

प्रतिक्रिया
Loading...