गणित विषयमा
नेपाल प्रथम भएको उसले
बुझ्न सकेन
आफ्नी आमाको
प्रेम र त्यागको गणित
र लैजान्छु तीर्थ भनेर
छाडिआयो आमालाई
वृद्धाश्रमको गेटैमा
जसरी
आमाले उसलाई
बजार लैजान्छु भनेर
छाड्ने गर्थिन्
विद्यालयको गेटमा ।
त्यतिबेला ऊ
खुब उफ्रन्थ्यो, रुन्थ्यो
यतिबेला आमालाई पनि
खुब रुन मन छ, उफ्रन मन छ
तर देखाउन मन छैन
किनकि पहिला
ऊ अबोध थियो
आमाले बुझेकी थिइन्
अहिले
ऊ लाज पचाउँदै छ
आमाले बुझेकी छिन् ।
आज फेरि बर्सौँपछि
एउटा हातमा
फलफूलको सेतो झोला
अर्को हातमा
कागजातको कालो झोला
हल्लाउँदै हल्लाउँदै
ऊ पसेको छ त्यही गेटभित्र ।
उसलाई
-फलफुल दिनु छ आमालाई
-फोटो खिच्नु छ आमासँग
-ल्याप्चे लिनुछ बुढी आमाका
बुढी औँलाहरूको
अनि हतारिएर घर आएर
पोस्ट्याउनु छ आमासँगको फोटो
वर्षमा एकपटक मात्र
आमाको अनुहार देखिने
फेसबुकको भित्तामा
यस्तो लेखेर –
`आमाको मुख हेर्नुभन्दा अगाडि
आमालाई मुख देखाउन लायक बन्नोस्
ह्याप्पी मदर्स डे´।
केराबारी, मोरङ्ग
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला