टिभीको रूपौलो पर्दामा टलक्क टल्किएका विज्ञापन
विज्ञापनका दृश्यहरूमा झुल्किएका धपक्क बलेका सिताराहरू
थरिथरिका गीत र परिपरिका सुगर कोटेड कुइनाइन सामग्री
ह्वारह्वारती हाम्रो घरभित्र पस्छ्न् ।
भान्सा कोठा
सुत्ने कोठा
बैठक कोठा
स्नानागार सबैतिर कब्जा गरेर
हाम्रो मस्तिष्कमा गुँड लगाएर
हाम्रा सोचहरूमा स्याउँस्याउँती बच्चा जन्माएपछि
हामी युगानुकुल भएको गर्वले एक्लै मुसुमुसु हाँस्छौँ
ओल्लाघर-पल्लाघर
तल्लाघर-माथ्लागरको धुरीबाट पतपती धुँवा निस्कन्छ ।
हिजोआज व्यापारीहरू
गाउँ गाउँ घर घर डुल्छन्
होम डेलिभरी हुन्छ हाम्रा खाँचाहरूको ।
हरेक गाउँ
हरेक जङ्गल
हरेक सहरमा
पसेका विकृत अनुहारका व्यापारीहरूले
आफ्ना अनैतिक इच्छाहरूका पाङ्ग्राहरू दौडाउन
न्यायको धुरी फुटाएर
अन्यायको पसल थाप्दै
सिधा-साधा गाउँलेहरूलाई
डसिरहेका छन्
गाउँलेहरू लुटिइरहेका छ्न् ।
कस्ता कस्ता व्यापार छन् हिजोआज
भावनाका
प्रेमका
विश्वासका
आस्थाका
भरोसाका
पसल थाप्ने अवैधानिक व्यापारीहरूको त झनै कमी छैन
जताततै छापछाप्ति छन् ।
आजको युगमा पनि
दास र मालिकको परम्परालाई कायम राख्नेले
हाम्रै मुस्कान सापट लिएर
हामीलाई नै बेचिरहेका छन्
महँगो भाउमा
नगद नारायण ।
बेच्न पल्केकाहरूले
सब बेच्छ्न्
गिटीदेखि नीतिसम्म
होस् गर्नुहोस !
कसैले तपाईंलाई बेचिसकेको छैन चालै नपाई?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला