कवि मालिनी गौतमको परिचय

मालिनी गौतमको जन्म २० फरबरी १९७२ मा भोपाल, मध्यप्रदेश, भारतमा भएको हो । साहित्यमा विद्यावारिधि उपाधि प्राप्त गौतम गुजरात विश्वविद्यालय में प्राध्यापकका रूपमा कार्यरत छिन् । उनका ‘बूँद बूँ अहसास, ‘एक नदी जामुन सी’ (कविता सङ्ग्रह), ‘दर्द का कारवाँ’ गजल सङ्ग्रह लगायत गीत र कविताका संयुक्त सङ्ग्रह पनि प्रकाशित छन् । आगमन साहित्य सम्मान, परम्परा ऋतुराज सम्मान, आशा साहित्य सम्मान, अस्मिता साहित्य सम्मान, भारतीय साहित्य सेवा सम्मान‘ गुजरात साहित्य अकादमीको श्रेष्ठ कविता सङ्ग्रह पुरस्कार, मध्यप्रदेश हिन्दी साहित्य सम्मेलनको वागीश्वरी पुरस्कार जस्ता सम्मान र पुरस्कारबाट उनलाई सम्मानित गरिएको छ । मिहिन विषयवस्तुमा गम्भीर कविता लेख्ने उनी अपेक्षाकृत सरल भाषाको प्रयोग गरेर कविता लेख्न रुचाउँछिन् । भाषान्तर कविताको यस शृङ्खलामा कवि मालिनी गौतमका पाँच कविताहरूको अनुवाद प्रस्तुत गरिएको छ ।

होटलको रुम नम्बर ३०३ मा

मालिनी गौतम

होटलको रुम नम्बर ३०३ मा
मलाई आवश्यकता थियो
फल काट्नका लागि एउटा चक्कुको
रुम सर्विसमा दिइएका
तीनतीन सूचनाहरूपछि पनि
पन्ध्र मिनेटसम्म
कोही आएन चक्कु लिएर जब
बढ्न थाल्यो मेरो व्याकुलता र छटपटी ।

यति ठुलो होटलको
यति ठुलो भान्सामा होलान् अनेक चक्कु
र पनि आँप काट्नका लागि
मैले पाइरहेकी छैन चक्कु
अर्थात् सबै चक्कुहरू व्यस्त छन् ?
त्यसो भए चाँडै पत्ता लगाइनु पर्छ-
कता व्यस्त छन् ती !

ब्रेडमा बटर र जाम लगाउँदै छन् ती
कि काटिँदै छन् तिनबाट
साग, तरकारी, फल अन्डा र पनिर
अथवा काट्दै छन् ती
कसैको टाउको… कसैको शरीर ?
के ती निकाल्दै छन् आफ्नो तिखो टुप्पाले
फलको बीज अथवा
तरकारीभित्र लुकेका किरा ?
या फेरि निकाल्दै छन् ती आफ्नो चुच्चाले
कुनै पीडितको शरीरका आन्द्रा ?
कसैको गर्धनमा तेर्सिएर
ती छामिरहेछन् खल्तीहरू
या चिप्लिरहेछन्-
कुनै आठ बर्से बालिकाको शरीरमा ?
यो चक्कुहरू काममा लागिरहने समय हो
चक्कुहरू अत्यन्त व्यस्त छन् आजकल
घर र भान्साको जस्केलाबाहिर निस्केर
आफ्नो धार प्रमाणित गर्न ।

चाँडै पत्ता लगाऊ
कुन चक्कु कहाँ व्यस्त छ
रुम नम्बर ३०३ मा
मलाई चाहिएको छ एउटा चक्कु
म एक हातमा फल
र एक हातले गर्धन सम्हालेर बसेकी छु ।
***

अब प्रेमी आश्वस्त छन्

मालिनी गौतम

प्रेमिकाहरूले
बालुवामा लेखे
आफ्ना प्रेमीहरूको नाम
निश्चिन्त थिए प्रेमीहरू
बगाएर लैजान्छन् ती नामलाई छालहरूले
र ती कसैको दृष्टिमा नआइकनै पनि
सुरक्षित रहने छन्
एउटा अनाम सुगन्ध जसरी
प्रेमिकाका केशराशिहरूमा ।

राम्रै भयो
चिठी लेख्ने कला
विलुप्त भएको छ परिवर्तित समयसँगै
लेखिएका चिठीहरू
हुन सक्थे बेइज्जतीका अभिलेख
अब घन्टौँ गफिन्थे प्रेमीहरू
प्रेमिकाहरूका मोबाइल सन्देशहरूमा
आश्वस्त थिए ती
इन्ड टु इन्ड इन्क्रिप्सन टेक्नोलजीको
यो समयमा उनीहरू
डिलिटको एउटा की थिच्नासाथ
सुरक्षित र अदृश्य थिए ।

कतै टाढा जाने बेला
सम्झाए प्रेमिकाहरूलाई प्रेमीले
संसारलाई घोषणा गरे तिनले
प्रेमको शत्रु
खोजेनन् प्रेमिकाहरूले
कुनै अर्को काँध
जहाँ टाउको अड्याएर रुन सकियोस्
केही गोप्यताहरू सकिए सुनाउन
ती अन्तरङ्ग साथीहरूसित समेत तर्किरहे
निश्चिन्त थिए प्रेमी-
सुरक्षाको बाजी त तिनकै हातमा थियो ।

प्रेमिकाहरूले भेटेनन्
आफ्ना प्रेमीहरूलाई
बगैँचाहरूमा
सिनेमाघरमा
भिडभाडयुक्त ठाउँहरूमा
जहाँ भेटिन सक्थे परिचित अनुहार
तिनले सधैँ भेटे प्रेमीहरूसँग
टाढा अपरिचित ठाउँहरूमा
अपरिचित अनुहारहरूमा ।

आश्वस्त छन् प्रेमीहरू
कतै लेखिएको छैन तिनको नाम
अभिलेख बनेर
न बालुवामा न पानीमा
न फूलमा न न कागजमा
न मौनतामा न फोनमा ।

यसरी नै प्रेमीहरू
आफूलाई बचाउँदै
प्रेमको वाचा गर्दै
आफ्नै सुविधाअनुसार
आइरहन्छन् गइरहन्छन्
प्रेमिकाहरूको जीवनमा ।
***

उज्यालोको आख्यान

मालिनी गौतम

सधैँ जस्तो यताउता हेर्दै
सतर्कतासाथ चरा
उफ्रिएन
बगैँचाको कुनै हागामा
अल्झाएन पखेटा
साइकसको काँडायुक्त झाडीमा
पर्खिएन
सूर्यास्त होस्
साँझ परोस्
र फर्कूँ आफ्नै गुँडमा ।

त्यो त समाधिस्थ भएथ्यो
दिउँसै
बेलीको सबैभन्दा बलियो र लच्किने लहरामा
जहाँ फुलेका थिएनन्
बेलीका फूल
फेरि छोपेर पखेटाले लहरालाई
मेटिदिएको थियो त्यसले दिन र रातको भेद ।

चरा अब फूल, पात, सुगन्ध,
साइकस, काँडा र सूर्यसँगको प्रेममा छैन
निर्माण गर्दै छ त्यो
प्रेमको नयाँ भाषा
अँध्यारोमा आफ्नो चुच्चाले
लेखेर उज्यालोको नयाँ आख्यान ।
***

चिसो र तातोका बिच

मालिनी गौतम

काम गर्ने महिलाका हातबाट
माझिएको अन्तिम भाँडो बज्रियो
अचानक केही ठुलो आवाजका साथ भुइँमा ।

भाँडो बज्रिएको
यो ठुलो आवाजमा निहित थियो-
सायद गए राति बिनाकारण
आफ्नै जँड्याहा लोग्नेबाट खाइएको पिटाइको पीडा,
सकेर काम एउटा घरको
छिटो छिटो अर्को घरको
काम सिध्याउने हतार,
छातीमा पहाड बन्दै गएको
छोरीहरूको बिहेबारीको चिन्ता,
बाबुले देखाएको बाटामा
निकम्मा बन्दै हिँड् थालेको छोराप्रतिको रोष
अथवा अरू पनि धेरै थोक… …

गृहिणी प्रायः अब रिसाउँदैनन्
यस्ता आवाजमा
बरु हाँस्दै
काम गर्ने महिलाको शिर वा काँधमा
राख्दै आफ्ना स्नेहपूर्ण हात
उसका हातमा थमाइदिन्छन्-
तातो चियाको कप ।

तातो चिया र चिसो जिब्रोका बिच
सन्तुलन बनाउने समयान्तरालमै
आँखा, मुख र मनले पनि
पाउँछन् समय
आफ्नो तुष्टीकरणको ।

यसैगरी चल्छ जीवन
चिसो र तातोका बिच ।
***

एक चिन्तित बिहान

मालिनी गौतम

गुन्जिरहेछन् केही सल्किरहेका प्रश्न चारैतिर ।

स्वार्थको लेउ
जमेको छ आचरणमा
निद्रा गह्रौँ भइरहेछ
जागरणमाथि

प्रतीक्षामा छ एउटा चिन्तित बिहान कहिलेदेखि ।

पहेँलिएको छ
यो शताब्दीको शरीर
खुम्चिएर सुतेको छ-
चिसा रातहरू जसरी

कानमा छैनन् बजेका शून्यताका स्वरहरू ।

रातदिन उँभो लाग्दै छ-
छलको ग्राफ
तर सत्यको वृत्त
बढेको छैन किञ्चत

कपटको एउटा डोरी अल्झेको छ त्रिभुजमा ।

मन अल्झेका
धागोका लाछीहरू खोल्छ
सम्झनाका क्षितिजहरूमा
रङ घोल्छ

अवसादको मैनबत्ती जलिरहेछ चारैतिर ।
***