१. इमान

(कृष्ण धरावासी)

रुस र अमेरिकाले
रकेट छाडे,
चीन र भारतले
उपग्रह छाडे,
हामीले पनि
केही न केही त
छाड्नैपर्ने भयो !

लामो सोचविचारपछि
हामीले पनि
इमान छाड्यौँ !

२. विद्रोह

(लालगोपाल सुवेदी)

उहिल्यै हो—
भानुभक्तले लामखुट्टेको विरोध गरेको
उपियाँको धज्जी उडाएको,
रात पर्यो कि सल्बलाइहाल्छन्
रगत खाने प्राणीहरू !
बत्ती बाल मैयाँ !
यी रक्तपिपासुहरूलाई
विष खुवाएरै निमिट्यान्न पानुपर्छ !
अब पनि रगत खान दिनु
हाम्रै मुर्खतासिवाय अरू केही हुन्न !

 

३. प्रतीक्षा

(कृष्ण कँडेल)

बुद्ध, तिमी निदाएको बेला
हिंसाले बास गरेछ,
रगतका सिर्काहरूले
मेरो देशको मानचित्र तलपतिएछ,
कृष्ण, तिमी हराएको बेला
कंसहरूको बिगबिगी बढेछ,
त्यसैले,
शान्तियुद्धको शङ्खघोष गर्दै
मातृभूमि तिम्रै आगमनको प्रतीक्षामा छ ।

४. विद्रोह

(फूलमान वल)

पहिलो पटक
जब मैले समयलाई चिनेँ,
उसले मलाई नचिनेझैँ अभिनय गर्यो !

दोसो पटक
मैले उसलाई सजग गराएँ,
तर ऊ, आँखा चिम्लेर निदाएझैँ गर्यो !

तेस्रो पटक
मैले समयलाई आँखा तरेँ,
यसपटक त झनै निर्जज्ज हाँसिरह्यो !

त्यसपछि
मैले समयको अनुहारलाई
कच्याककुचुक पारेर
च्यातेर मिल्काइदिएँ !

५. शब्द भएको दिन

(कविता राई गाउँले)

भरखरै
हावाले समयको परिभाषा
एक हरफमा
पातमाथि लेखेर गयो !

त्यति नै बेला
घामले उमेरको परिभाषा
एक शब्दमा
फूलमाथि लेखेर गयो !

म भने
आफ्नै जिन्दगीको परिभाषा
एक एक अक्षरमा बटुल्दै छु !

पर्ख ल ?
एक एक अक्षर
शब्द भएको दिन
म पनि हरफ हरफमा जिन्दगी लेख्नेछु !