सप्तरङ्गी सुन्दर पुतलीका क्रीडास्थल फूलबारीबाट
सुसज्जित रङ्गीबिरङ्गी पुष्पहरू
चुँडेर चटक्कै आबाल बोटबाट
नचढाउनू है ,
‘ म’ बितेपछि !
बरु चुड्नुको साटो रोपिदिनू
मेरा अवयवहरूसँग साक्षात्कार भएका
माटाका कणहरूमा..
म तिनै मुनाहरूलाई स्याहार्नेछु ,
र जब फक्रनेछन् कोपिला तिनका
सम्झनेछु तिम्रो उपहार।
मेरा दूरगामी दृष्टिसँगै मायाले
हेरेर सिँगारेर राख्नेछु..
र जब फक्रनेछन् ती वैजनी फूल
बतासलाई मगमगाउँदो सुवास बोक्न लगाई
पठाउनेछु तिमीमाझ
केही बास्नासँगैका मीठा तरङ्गहरू
त्यसबेला आँखा बन्द गरेर
सम्झनू मलाई, म त्यहीँ हुनेछु
हावाका लहराइहरूसँग
…
‘म’ ‘मरेकी’ होइन , अनन्तको यात्रा तय गरेकी हुँ ।
जहाँ, मेरो यात्रामा कुनै चाैघेरा दिइएको हुन्न
जहाँ, मेरा पाउहरूलाई गह्रुङ्गा झनझनाहरूले बाँधिएको हुँदैन
जहाँ मेरा बाटाहरूमा कुनै नो एन्ट्रिको बोर्ड लगाइएको हुँदैन
जहाँ मेरा पङ्खहरूलाई षड्यन्त्रपूर्वक काटेर राखिएका हुँदैनन्
जहाँ मेरो क्षितिज अनन्त हुनेछ
जहाँ मेरो आत्मालाई अर्कै आकाशगङ्गामा विचरण गर्नका निमित्त
कुनै रकेट लन्च गर्नुपर्ने आवश्यकता हुँदैन
…
म स्वतन्त्र भई ब्रम्हाण्डका कुनाकाप्चामा पुगी
सम्पूर्ण रहस्यहरूको पर्दा हटाउनेछु ।
र पुनश्च आई ती सब रहस्यको झोली खोल्नेछु,
तिमी सुन्न तयार हुनू है।
म अर्कै डाइमेन्सनमा तर तिम्रै वरिपरि हुनेछु
महसुस गर्नू है ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।