रवि सुवेदी

छन्द- उपजाति

यो राष्ट्रको रक्षक को छ हेर
बस्दो छ यो लौन खडा भएर।
न भोक तिर्खा न त घाम पानी
सुदूर स्वप्ना शिरका सिरानी।।१।।

भिन्नै छ भाषा मनमा खुलेको
भिन्नै छ डाली तनमा फुलेको।
भिन्नै छ आशा मनमा डुलेको
तथापि हाँसो दिलमा खुलेको।।२।।

आकाश चिर्नेछु भनेर जाओस्
समुद्र तर्नेछु भनेर जाओस्।
म सत्य कोर्नेछु भनेर जाओस्
असत्य फोर्नेछु भनेर जाओस् ।।३।।

विशाल छाती सँगमा फिँजाई
भनोस् लु वैरी सकियो रजाइँ।
लुट्ने लुटिस् लौ अब पाइँदैन
सामन्तको शासन चाहिँदैन ।।४।।

मर्दैछ भोकै बबुरो चरी हे!
भर्दैछ भाँडो चतुरो चरी हे!
उठा तँ हे एक सुरम्य वाणी
सुसभ्यताको मधुरो कहानी।।५।।