हे विश्वका तिमी मानव ।
हिजो तिम्रो चेतना सुस्ताएको मात्रै थियो
सुतेको थिएन
हिजो तिम्रो गति विस्तारिएको मात्रै थियो
स्थिर थिएन
रङ्गीन संसारमा रनभुल्लमात्रै थियो
अल्झिएको थिएन
त्यसैले
विश्वका ए मानव
उठ !
जाग
ब्युँझ !
चेतनाको धारमा लागेको खियालाई
चम्किलो पाराले मस्काऊ र ब्युँझ
तिम्रो यति र गतिमा अलिकति धावन शक्ति बढाऊ
वेग बनेर उठ र जाग
हे विश्व मानव
विश्वलाई रोगले धेरैपटक न्याकेको बेला
तिम्रो साहस र तागतले ढालेको सम्झ
तिम्रो आत्मबल र दृढ इच्छाशक्तिले परास्त गरेको सम्झ
उठ, अझै जाग
ब्युँझ र चट्टानझैँ उभिई
अवस्य तिमी जित्ने छौ फेरि यो संसारलाई
पक्कै तिमी जित्ने छौ यो महामारीलाई
अन्तिम विजय तिम्रै हुनेछ
जगाऊ तिमी भित्रको आफूलाई
तिम्रो आत्मविश्वासलाई
जसले संसारको जुनसुकै कठोर रोगलाई परास्त गर्नेछ
जगाऊ तिम्रो आत्मदीपलाई
जस्ले यो संसारको महामारीलाई खरानी बनाउनेछ
उठ, साहस गर, नआत्तीकन, नछटपटीकन
धैर्य धारणका साथ स्मरण गर
जाग, अलिकति बलका साथ अलिकति बुताका साथ
आऊ जगाऊ तिम्रै मनहरू
तिम्रै तनहरू
अन्तिम विजय तिम्रै हुनेछ
यो संसारको फूलबारीमा
तिम्रै खुसी र तिम्रै सार्वभौमिकता चल्नेछ
महामारी जलेर खरानी हुनेछ
आऊ जगाऊ आफ्नै मनहरू
अन्तिम विजय तिम्रै हुनेछ
यो संसारको स्वर्ग तिम्रै हुनेछ
उ.स.व.का. जनकपुर १०.०३ बजे बिहान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।