भोक मेटाउन-
माटाकाे रोटी खाइरहेका केटाकेटीहरू
हेर्नकै लागि हुन् भने-
यी आँखा फुटाइदिए हुन्छ ।

यहाँ पलपल
रोग, भोक र शोकमा
झरिरहेका छन् – भुईँका ताराहरू
निभिरहेका छन् -चम्किला तोतेबोलीहरू
अझै पनि
हेरिरहेका छन् माथितिरै
जो आँखाहरू
फुटाइदिए हुन्छ ।

किन हेर्नु अघाएको आकाश ?

सरोज कटुवाल `उदिप्त´

यो प्यासी बस्तीमा
कहिल्यै ननिभ्ने भए
– भोकको ज्वाला
कहिल्यै नपुरिने भए
– विभेदको खाडल
कहिल्यै नमेटिने भए
–  शोकको पाइला
किन जानु विश्वविद्यालय ?
किन रट्नु दर्शनका पानाहरू ?
किन बचाइरहनु धर्म र राजनीति ?
किन गरिरहनु मानवताको चर्चा ?

भोक मेटाउन
माटाको रोटी खाइरहेका नाङ्गा केटाकेटीहरू
यथाअवस्थामै मरिरहनुपर्ने भए
मेटिओस् बरु – संसारकै अस्तित्व ।

किनकि
यो संसार भोग्ने हक
यदि छ भने – सबैलाई बराबर छ ।
छैन भने – कसैलाई छैन ।