सधैँ जिन्दगीको खरो प्यास मेट्ने
स्वयंभित्र संसार सिङ्गो समेट्ने
मिल्यो पात्र जस्तो छ छाया दुरुस्तै
म सोच्दैछु पानी र सम्बन्ध उस्तै।।१

कतै सम्झनाको चलाई निशानी
उडी जान्छ टाढा बाडो वेग हानी
हुरीझैँ कतै यो कतै मन्द उस्तै
म सोच्दैछु हावा र सम्बन्ध उस्तै।।२

त्यहीँ जिन्दगीको अड्यो दिव्य सार
छ आस्था उसैमा र श्रद्धा अपार
छ आधार यौटै र सौगन्ध उस्तै
म सोच्दैछु माटो र सम्बन्ध उस्तै।।३

कतै लाग्छ खाली महाशून्यजस्तो
कतै भव्य रङ्गीन विस्तीर्ण अग्लो
खुला भव्यताको महानन्द उस्तै
छ आकाश जस्तो छ सम्बन्ध उस्तै।।४

कतै ज्योति छर्ने र उद्दीप्त पार्ने
कतै खाक पार्ने जलाएर मार्ने
कडा धूप चर्को धुवाँ गन्ध उस्तै
म सोच्दैछु आगो र सम्बन्ध उस्तै।।५

 

छ संसार के खै सबै पञ्चतत्त्व
र सम्बन्ध हाम्रो कसैको महत्त्व।
कि पानी कि हावा कि आगो कि माटो
कि आकाश वा अंश हो शून्यताको।। ६

छन्द- भुजङ्गप्रयात