कवि अनामिका अनुका केही कविता

कवि अनामिका अनुको जन्म १ जनवरी १०८२ मा भारतको मुजफ्फरपुर, बिहारमा भएको हो । वनस्पतिविज्ञानमा विद्यावारिधि गरेकी अनामिकाका कविताहरू हंस, समकालीन भारतीय साहित्य, नया ज्ञानोदय, आजकल, कादम्बिनी, वागार्थ, बया, परिकथा, दोआबा, मधुमती, नयी दुनिया, जानकीपुल, समालोचन, हिंदीनामा, राजस्थान पत्रिका, नवभारत टाइम्स, दैनिक भास्कर आदि पत्रपत्रिकाहरूमा प्रकाशित छन् । उनलाई २०२० को भारत भूषण अग्रवाल पुरस्कारबाट सम्मानित गरिएको छ । उनी हाल दक्षिण भारतको केरलामा बसोबास गर्दछिन् । समकालीन चेतनाको उदात्त अभिव्यक्ति उनका कविताको मूल वैशिष्ट्य रहेको देखिन्छ । भाषान्तर कविताको यस शृङ्खलामा कवि अनामिका अनुका केही कविताहरूको अनुवाद प्रस्तुत गरिएको छ ।
***

१. म जाँ पल सार्त्र

(मैं ज्यां पाल सार्त्र)
अनामिका अनु

म जाँ पल सा‌र्त्र
एक अस्तित्ववादी
फर्डिनेन्डसँगै
पिइरहेछु आँखाले स्वेज नहर
मैले लेखेका स्वतन्त्रता पत्र
नहरमा पौडिरहेछन् हाँस बनेर

पानीजहाज बनेको छ क्रान्ति चोक
जहाँ उभिएर गर्दै छु म भाषण
र भनिरहेछु
युरोपको लोकतन्त्र विश्वलाई बाँडिरहेछ दासत्व
कब्जा गर्न सक्दैन मेरो देश
अल्जेरियाको स्वतन्त्रता
चिच्याइरहेछु म
र भिड मेरो चित्कारलाई ठानिरहेछ-
एक अनीश्वरवादीको गर्जन

मान्छेहरू भन्छन्-
म स्वनियन्त्रित हैन भाग्यनियन्त्रित शिशु थिएँ
अठार महिनामा पिता
र बाह्र वर्षमा आमाले लिइन् बिदा
एउटै आँखाले दुइटा विश्वयुद्ध देखिसकेको मानिस
दार्शनिक बन्न पुग्यो एक दिन
म अस्वीकार गर्छु ठोकुवाका साथ त्यो भाग्यलाई

सोरेन किर्केगार्ड भनिरहे
मान्छेभन्दा टाढा गहन विश्वासले
अनुभव गर्न सकिन्छ ईश्वरलाई
म सार्त्र ईश्वरको त्यो सत्तालाई पनि
गर्छु अस्वीकार

कैयौँ काँचका गिलासहरूमा पिएर रक्सी
सुत्छु म
सपनामा बजाउँछु भायोलिन
यसर्थमा कि आमाका गीतहरूसित गर्न सकूँ सङ्गत
नौ महिना गर्भमा,
बाह्र वर्ष काखमा राखेर
आमाले चिहानमा समेटिन मेरो बाल्यकाल

के म रुसो, कान्ट, हिगेल र मार्क्सकै
पछिल्लो कडी हुँ ?
या मार्क्सवादको महलको एउटा सुन्दर आँखीझ्याल
जहाँबाट आउँछ स्वतन्त्रताको उज्यालो
जसले कहिल्यै गरेन
कुनै प्रभुको प्रतीक्षा
आँखीझ्याल त्यो- जान्थ्यो भान्सासम्म
र भायोलिनको छेउमा
किताबको टेबुलछेउमा खुल्थ्यो
जहाँबाट देखिन्थ्यो सडकको चौबाटो
जहाँ म
बाँडिरहेथेँ पत्रिका
क्रान्तिको

संसारको रीत हो यो
क्रान्तिकारीकै घरमा खस्छन् बम
कन्चटमा तेर्स्याइन्छ बन्दुक
र पनि मनमा तिनको हुँदैन कुनै पीडा
सत्य बोलेपछि निडर मान्छेले
भित्रैदेखि अनुभव गर्छ हलुको भएको

मैले लेखेँ
लुमुम्बाको भाषणहरूको प्राक्कथन
हो लेखेँ मैले नै
फ्रान्ज फेननको पुस्तकको पूर्वपठन
अल्जेरियाका एक सय एक्काइस घोषणापत्रमा
गराइरहेँ हस्ताक्षर

चाहिएको थिएन मलाई नोबेल वा लेनिन पुरस्कार
नग्न वास्तविकतालाई वस्त्र पहिर्‍याउने
हरेक गम्भीर षड्यन्त्रमा
थिए मेरा आँखा
हरेक नाटकका पटकथा
र सत्यता भलिभाँती थाहा थिए मलाई
म एकआँखे दूरद्रष्टा

थाहा थियो मलाई-
विचार र स्थिति हुन् दुई दिदीबहिनी
एउटै रोगले ग्रसित
नाम हो जसको अस्थिरता
यस रोगका तीन लक्षण छन् स्पष्ट
विकास, गति र परिवर्तन

दिक्दार हुन्छु म
थाकेर गम्भीर वैचारिक यात्राहरूबाट
खोज्छु परिवर्तन
शारीरिक तत्त्वमा लीन
म प्रशान्त सागरमा मिल्काउँछु
ढुङ्गा जस्ता कैयौँ शरीरहरू
तरङ्गहरूले भरिन्छ ताल
माटोका प्रसन्न मूर्तिका अङ्गभङ्ग
फुट्ला जस्तो भएको शिरमा उच्च ज्वर
म खोज्छु
कोरिड्रेनका चक्कीहरू
र एउटा तिक्त बेहोसी

सम्मान गर्नुपर्थ्यो मैले
आत्माको परिणयलाई
त्यसै गरी जसरी
क्याथोलिक चर्चमा हुने गर्छ मरियमको सम्मान
मैले भेटेको थिएँ सिमोनलाई
कुनै देवतालाई साक्षी राखेर
गरिनँ कुनै वाचाबन्धन
जसरी गर्दै आएका थिए दुई शरीरले
विवाह मण्डपमा
स्थापितसित द्वन्द्व
र भत्किरहेका प्रतिमाहरूको
विसर्जन आवश्यक थियो त्यति बेला

दुई मानिस जो एक थिए
जसलाई भत्काउनु थियो सामाजिक मान्यता
जो डराउँथे अपेक्षाहरूसित
र भागिरहेथे
त्यो संस्कृतिबाट जसले समानताका बिच
एउटा कलात्मक दुर्ग जस्तै केही उभ्याएको थियो
सम्पूर्ण रङरोगन र ठाँटका साथ

ईर्ष्या शत्रु हो स्वतन्त्रताको
नियन्त्रित गर्छ यसले व्यक्तिलाई
यसै गरी लगाउँछ लगाम यसले
व्यक्तिगत स्वतन्त्रतामा

परिस्थितिहरूमा रहन्छ
नातागोता निर्माण गर्ने विलक्षण शक्ति

एकाउन्न वर्षको साथ
जसमा कैयौँ मानिस आए र गए
प्रेम, डाह, शरीर, घृणा, विरह र मिलनका कैयौँ पत्रहरू
जसले बनाइदिए
नाताहरूलाई डोलोमाइट चट्टान
सम्बन्ध यो जुन
कुनै ढाँचामा समायोजित नभइकन पनि
चिरकालिक र विशिष्ट रह्यो
कैयौँ आँधीपश्चात् पनि
यसबाट सतत उत्सर्जित स्नेहले
बचाइ राख्यो यसलाई
एकअर्कामा रुचि रहिरह्यो मृत्युपर्यन्त
दर्शनले जोगाउँछ प्रेमलाई

म सार्त्र
मसित रङहरू छन् कैयौँ
सिमोनसित छन् कैयौँ धागाहरू
सिमोन गर्दिनन् रङहरूसित ईर्ष्या
म गनिबस्दिनँ सिमोनका धागाहरू
हामीलाई थाहा छ-
कैयौँ स्थूल नाताहरूले ठिक ठिक सम्झाए
मात्र एउटा सूक्ष्म नाता बन्ने गर्छ
समस्त जीवनमा

म सार्त्र रित्तिँदै छु म
छेउमा उभिएकी छिन् सिमोन औषधीको सिसी जसरी
त्यो औषधी-
जसले गर्ने छ मेरो पीडालाई शमन
केस्टर (सिमोन) भन्दै छिन्-
चिकित्सकका कानमा
उसले नभनोस् मलाई-
म मर्दै छु

म गर्दै छु जीवन बाँच्ने
अन्तिम अनाधिकारिक चेष्टा
आउँदै गरेको मृत्युलाई देखेर
जैतुनका फूल झैँ फक्रिएको छ मेरो अनुहार
मलाई थाहा छ
जीवन एउटा हास्यास्पद नाटक हो
जसलाई गम्भीरतापूर्वक बाँचिरहेछौँ हामी

मलाई थाहा छ-
नाटकबाट बिदा लिने अवश्यम्भावी सत्य
र मेरा औँलाहरू सल्बलाइरहेछन्
केही नयाँ लेख्नलाई ।
***

२. प्रेमका सिँढीहरू

(प्रेम की सीढ़ियाँ)
अनामिका अनु

क.
वातानुकूलित कोठामा आउँदैनौ तिमी मेरो सम्झनामा
अध्ययन कक्षमा आफ्नो जब
पसिनाले लछ्रप्प भिज्छु
अनि भेटिन्छौ तिमी निद्राका सबैभन्दा सुन्दर सिँढीहरूमा
कविता लेखिरहेको

ख.
मेरा आँखाको डेरा छ तिम्रो चस्माको छेउछाउमा
तिमी हाँस्दै दिने गर्छौ मलाई त्यो किताब निद्राको-
जसमा ब्युँझिरहेका हुन्छन् सबै शब्दहरू
चिसा नदीहरू कुनै पङ्क्तिमा
कुनैमा गुफाहरू काला
म सुत्ने गर्छु थाकेर ।

ग.
तिमी यसै पनि कति सुन्दर लाग्छौ
खुम्चिएका लुगामै कति प्रेमिल देखिन्छौ
जब लेखिरहेका हुन्छौ-
मलाई लाग्छौ खुदा
कुनै महापुरुषको
पवित्र समाधिस्थल जस्तो बन्न पुग्छ वातावरण
कति किताब लिएर आउँछु म
तिमी हाँस्छौ एक पटक फक्रेका आँखाले नियाल्दै
र भन्छौ-
तिम्रो प्रार्थना पूरा होस् प्रिय केटी
यसै गरी शब्द ‌ढेर आइरहनू तिमी ।

घ.
प्रेममा शरीर गौण,
मिलन अवाञ्छित,
संवाद मूल्यहीन
र पीडा अनिवार्य सुख जसरी आउँछ ।

ङ.
बिर्सिइन्न प्रेम
अव्यक्त पीडाहरूको यो कोष
देखिँदैन सबैलाई
समाधिस्थलमा फुलेका पहेँला फूल
माटोमा मिसिएका मान्छेको गन्धलाई गर्दैनन् अस्वीकार
प्रेम गरेर हामी हट्दैनौँ पछाडि ।

च.
बाँधिन सकिनँ म
कैयौँ पटक मात्र रोकिएको छु
जीवनभरि हिँडेको हुँ म
जन्म र मृत्युका बिच मैले
गरेको छु एउटा यात्रा
जसमा थिएन केही पनि स्थायी
तिम्रो मुस्कान र मेरा पसिनाका थोपा जस्तो
मूल्यवान् वस्तुहरू पनि खर्च भइसके
मैले निकै महँगो जिन्दगी किनेँ ।
***

३. सेतो अनुहारको मान्छे- १

(श्वेत चेहरे वाला आदमी-1)
अनामिका अनु

सेतो अनुहार भएको त्यो मान्छे हराएको छ-
जसले दिएको थियो मलाई आफ्नो अनुहारमा
क्रान्ति लेख्न
म खोजिरहेछु भित्ताहरूमा
खोजिरहेछु जेलका रेकर्डहरूमा
सुँघिरहेछु मसानघाटहरूमा
खनिरहेछु चिहानहरू

मृत्युले बाँधोस् उसलाई
यो सम्भव छैन
उसको त्यो शुभ्रता, त्यो क्रान्ति, त्यो गन्ध
अझै उन्मुक्त छन् मेरा बन्द किताबका पानाहरूमा
यस किताबलाई खोलेर पढ्ने छे-
त्यो सेतो अनुहारकी बालिका
त्यस बेला जब ऊ सक्षम हुने छे सेतो पढ्न ।
***

४. सेतो अनुहारको मान्छे- २

(श्वेत चेहरे वाला आदमी -2)
अनामिका अनु

हिजो भेटेकी थिएँ मैले सेतो अनुहार भएको त्यो मान्छेलाई
त्यो ढलेको थियो पिलरछेउमा
एउटा कारले जहाँ किचेको थियो मोटरसाइकललाई ।
धेरै रोएका थिए मृत पत्रकारका छोराछोरी
सझैसम्म भिजेको छ सडक
उदास छन् रुखहरू ।
उभिएकी थिएँ म हिजो त्यहाँ
झन्डै दश मिनेट जति ।
अन्यमनस्क थियो सडक
एउटा पहेँलो चरो बसेको थियो काँधमा आएर ।
तिम्रो पहेँलो टिसर्ट भेटिरहेको छैन,
हिजैदेखि खोजिरहेछु दराजमा ।
आज दिन र रात बराबर हुने दिन हो,
फुलेका छन् पहेँला फूल
राजवृक्षका हाँगाहरूमा ।
आमाले दिएका आशीर्वादका सिक्काहरू
राखेर तकियामुनि
बुनिरहेछु तिमीलाई ।
प्रतीक्षाको रङ हो मेरा लागि पहेँलो
तिमीलाई थाहा छ मलाई हरियो मन पर्छ ।
आउँछौ नि ?
म प्रेममा छु ।
***

५. नौ नोभेम्बर

(नौ नवम्बर)
अनामिका अनु

प्रेमका स्मृतिहरू
कहानी हुन्छन्,
तर खस्छन् जब ती आँखाबाट
बन्ने गर्छन् छन्द ।

हिजो जब पालायम जङ्सनमा
रोकिएको थियो मेरो कार
त्यहीँ रोकियो कथाहरूले भरिएको एउटा बस पनि
एक एक गर्दै कैयौँ कविताहरू निस्किए त्यसबाट

तीमध्ये सबैभन्दा प्रिय थियो मलाई
त्यो गहुँगोरी, सुन्दर र विचललित कविता
जसका आँखाहरू मात्रै बोलिरहेका थिए
शान्त थियो पूरा शरीर ।
कैयौँ छन्द थिए उसको जुरामा
जो उसको हलचल मात्रले
झरिरहेका थिए भुइँमा
मानौँ झरिरहेका हुन् हरेक शृङ्गार ब्रह्ममुहूर्तमा ।

ठिक त्यसै बेला
बस स्ट्यान्डको पहेँलो छानामा
के परेका थिए मात्र आँखा
तिम्रो सम्झना आयो

“किन ?
म पहेँलो कहाँ लगाउँछु र ?”

हो त्यसैले त तिमी आयौ सम्झनामा !

देख्नासाथ-
त्यो रङ्गिन चेक सर्ट लगाएकी केटीलाई
मह जसरी घोलिन थालेका थियौ तिमी यो मनमा

“किन र ?
तिमी त कहिल्यै लगाउँदिनौ सात रङ ?”

तिमी हाँस्छौ नि इन्द्रधनुषी हाँसो
जसमा खुलेका हुन्छन् साततले भवनका
खुसीका असङ्ख्य वर्गाकार द्वार
ठिक चेक कपडा जस्तै
र भित्र हेर्दै हरेक द्वार चिहाएर मेरा आँखाहरू
हुने गर्छन् मन्त्रमुग्ध ।

सुगाहरू खेल्दै थिए आज
झुन्डिँदै समयका सुकेका डोरीहरूमा
स्मृतिका सुकेका लहराहरूमा तिम्रो सम्झनाका हरिया सुगाहरू
मैले रिक्त आँगनमा उभिएर भरिएका आँखाले हेरेँ
त्यो दृश्य

तिम्रो मुस्कानका डुङ्गाहरूमा जुन कथाहरू थिए-
म चाहन्छु सुन्न तिनलाई
प्रेमको अढाइ अक्षरको छतमा ओच्छ्याएर
दिनको लामो तन्ना
आउँछौ नि तिमी ?

मेरा लागि पासवर्ड थियौ तिमी
आजभोलि न इमेल खोल्न पाउँछु
न फेसबुक
न बैङ्क खाता
मात्र आँखा चिम्लेर
सम्झन खोज्छु पासवर्ड
के त्यो नाम थियो कुनै महिनाको ?
कुनै नाम ?
अथवा मिति !
***

६. म क्वारेन्टाइनमा छु

(मैं क्वारेनटीन में हूँ)
अनामिका अनु

तिम्रै लागि लेखिरहेछु म
कोठामा एसी छ
साजको काठको दराजमा किताबहरू छन्
ल्यापटप छ
र तिम्रो ध्यान ।

समाचारमा भन्दै छन्-
तिमीलाई स्टेसनबाट लट्ठी लगाएर खेद्छन् ?
कहाँ जान्छौ त्यसपछि तिमी ?
स्टेसनको अर्कोपट्टि, नालीछेउमा
रातभरि लामखुट्टेले टोक्छन् !
बिहानदेखि केही खाएका छैनौ पुलिसको लौरोबाहेक ?
पाँच सय रुपियाँ थियो, सुतेका बेला खल्तीबाट झिकेर लग्यो कसैले
यति फोहोर र लामखुट्टेको गोलोमा कसरी सुत्यौ तिमी ?
भैँसी हौ र !
बस आएको थियो, चढेको भए हुन्थ्यो
छतमा बसेको पाँच सय, भित्रको एक हजार माग्दै थिए ?
उभिइरह्यै !

दोस्रो दिन हो
आज खाना बाँडिएको थियो
त्यति बेला तिमी चिच्याई चिच्याई किन रुन थालेको ?
सोध्दै थिए पत्रकार
तिमी घर घर भन्दै रुँदै थियौ ।
चालिस किलोमिटर हिँड्यौ, अझ हिँड्नु छ पैँतिस
काँधमा बोकेका छौ छोरी, जरो आएको छ
मात्र एक सय दुई ?

म लेख्दै छु तिम्रा लागि
पख है ! एसी अन गर्छु
मसित दश हजार किताब छन्
कोरोनासित सम्बन्धित
देशविदेशबाट छापिएका सबै लेखहरू पढिसकेँ
तिम्रो फोटो राखेर तथ्यपरक, अझ राम्रो र
प्रभावशाली भाषामा लेख्ने छु
कविता पनि
कैयौँ कथाहरू
पख
मैले चिकेन बिरियानी बनाएकी छु आज
रायता बनाउन बाँकी छ
बनाएर, खानासाथ आउँछु
अनि लेखुँला
तिम्रो भोक, तिम्रो पीडा, तिम्रा रित्ता हात
अनि अँ, घाँस खाइरहेका केटाकेटीका कथाहरू
निकै समृद्ध छ मेरो शब्दकोश
निकै पढेलेखेकी छु मैले
कैयौँ किताब पढेको छु
म लेख्ने छु तिम्रा लागि

कठै ! तिमीहरूमध्ये कसैले लेख्थ्यो एउटा कविता
र भत्काइदिन्थ्यो एसीमा पेटभरि खाएर लेखिएको
मेरो कविताको बुर्ज खलिफालाई
जो उभिएको छ दुबई मलको छेउमा निसङ्कोच ।

मैले भनेकी थिएँ नि म निर्मम छु निकै
त्योभन्दा पनि बीभत्स छ मेरो ज्ञान ।
***

७. न्युटनको तेस्रो नियम

(न्यूटन का तीसरा नियम)
अनामिका अनु

शरीर मात्रै थियौ तिमी मेरा लागि
किनकि तिमीले पनि मलाई यस्तै अनुभव गरायौ
तिम्रा लागि म केवल आशक्ति थिएँ भने
मेरा लागि तिमी प्रार्थना कसरी हुन सक्छौ ?

म तिमीलाई मान्दिनँ आत्मा
किनकि तिमीले मलाई मानेनौ अन्तःकरण ।
तिमी आस्तिक धर्मकर्म मान्ने
म नास्तिक !
न भौतिकवादी न भौतिकशास्त्री
तैपनि मान्छु
न्युटनको तेस्रो नियम-
क्रियाको बराबर प्रतिक्रिया हुन्छ
र हामी हिँड्न थाल्यौँ विपरीत दिशामा… ।
***

८. तिम्रो सम मेरो विषम हो

(तुम्हारा सम, मेरा विषम है)
अनामिका अनु

तिमीले भेटेका छैनौ अझसम्म मलाई
चार दशकदेखि हामी दिदीभाइ हौँ
तिमी छोरा हौ आमाका
म विद्रोही छोरी
कति फरक छ हामी दुवैको धर्म
जे सामान्य छ तिम्रा लागि
त्यो भेदभाव हो मेरा लागि
तिम्रो सम मेरो विषम हो

भेट्ने छौँ कमरेड खुला खेतमा
घरका यी भित्ताहरू
भेट्न दिँदैनन् हामीलाई ।
***

 

९. लोकतन्त्र

अनामिका अनु

खरायो बाघहरूलाई बेच्थ्यो

भर्थ्यो आफ्नो पेट
बेचिएका बाघहरूले
खाइदिए किन्नेहरूलाई
फेरि बेचिन
बजारमा आए ।
***
अनुवाद : निमेष निखिल
स्रोत : कविबाट प्राप्त