मैले यादहरू गाउँतिरै पठाएँ भने
कसको हुँदो हो र याद ?
तिमीले लिप्ने सिकुवा
घुमाउने जातो
डुलिहिँड्ने घुरेन
पाली
आँगन वा अँगेनोको ?
निष्ठुरीको अमेट आरोप लागेका
यी धड्कन,
आरोपको प्रहार थेग्न नसकेर
एकछिन
सास फेर्दो हो त ?
कस्तो हुँदो हो त्यो प्रहार गर्ने धड्कन ?
र
तिमीलाई नि थाहा हुँदो हो ?
तिमीले नै लगाइदिएको
सहर
गुराँसझैँ रातो नहुँदो हो ?
चाँपझैँ मगमग नहुँदो हो ?
वस्तुको चरनझैँ हरियो
पँधेरीको पानीझैँ कञ्चन
उतै बहने हावाझैँ शीतल
नहुँदो हो
छाँगे चिर्खुवाझैँ जिउँदो नहुँदो हो ?
तर
तिमीसित थलखम वरिपरि
भुक्का खेलेको
गोठालो हिँडेको
रिङ्ग
भलिबलसँगै कुदेको
पिङका लागि
दशैभरि बाहुनगाउँ नापेको
सम्झनाहरू,
धुलोमै भए पनि
समेट्न सिकाएको छ यो सहरले
हो
चाँपझैँ मगमग नहुँदो हो ?
जामुने पाखाभरि सुठुनीको बेलो तान्दै
गरेको प्रेम
पातालको वनभरि ठोट्नेझैँ
झ्याङ्गिएको प्रेम
उधै-उधोतिर चिर्खुवा धाउने स्कुले
मेरो सेरोफेरो
बगबजार, गर्डेन अफ ड्रिम, वसन्तपुर
अनि रत्नपार्कभरि टाँगेको छ यो शहरले
हो
वस्तुको चरनझैँ हरियो नहुँदो हो ?
यताको टुँडिखेल अनि सैनिक मञ्च
सोमबारे, दिङ्गलाझैँ नहुँदो हो यताको मेला
तर त्यही मेलाको सिन्की अनि घ्यिउ
उडाएको छैन यो सहरले
जत्ति नै आधुनिक भए पनि
तोसोखोम, चारीथान घरमुनिको देवीथान
चुला, चुलामाथिको भार अनि
भारसँगैको फुर्लुङ्ग बिर्साको छैन सहरले
हो
पँधेरीको पानीझैँ कञ्चन नहुँदो हो
यो जेठाको मन
अनि भनौली
सहर पसेपछि जेठा
उहीँ मेरो जेठा रहेन
जो बाउसे हान्थ्यो
बाकाटे हान्थ्यो
रात-रातभर चिन्ता कुद्थ्यो
सोमबारे कुढाककाउले सिक्तेल भ्याथ्यो
उँधो मझुवा उँभो छाँगे भ्याथ्यो
तर
जेठी कास
रहर विगतमा तिम्रो यस्तो नहुँदो हो ?
र याद हुँदो हो मानिस र समय परिवर्तनशील छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला