सरकार !
तिम्रो त्यो भ्यूटावरबाट
गरिबका झुपडीहरू देखिँदैन
गरिबहरू पनि देखिँदैनन्
बरु, देखिन्छन् हुलका हुल स्यालहरू ।

मान्छे हेर्न त चन्द्रमा चढ्नुपर्छ
र, देखिन्छन् त्यहाँबाट
गरिबहरूका कमिलाजस्तै ताँतीहरू
अनि देखिन्छन्
रेलका डिब्बाजस्तै गरिबका झुपडीहरू
तर गरिबहरू कहिले चन्द्रमामा पुग्नु
र देख्नु ?
कमिलाका ताँतीजस्तै गरिबहरू हिँडिरहेको
अनि रेलका डिब्बाजस्तै झुपडीहरू ।

छविलाल कोपिला

जब चन्द्रमा अस्ताउँछ
जूनको प्रकाशपुञ्जसँगै
क्रमशः–क्रमशः अस्ताउँछन्
झुपडीभित्रका दीपहरू पनि
र अँध्याराहरूले साम्राज्य जमाउँछन्
यता स्यालहरूका जुलुस निस्किन्छन्
सभा हुन्छन्, सम्मेलन हुन्छन्
र अहोरात्र चलिरहन्छ भोज–समारोहहरू
यता तिम्रो भ्यूटावरले
एकहोरो ताली पिटिरहन्छ ।

अचेल तिम्रो भ्यूटावरमा बसेर
हिंसक चील र बाजहरू
हरेक बिहान नियाल्छन् झुपडीतिर
र बारबार झम्टिन्छन् समृद्धिका मुनाहरू ।

तिम्रो भ्यूटावरको साम्राज्यले
अचेल फूलबारीमा मखमली फुल्न छाडेका छन्
सयपत्री फुल्न छाडेका छन्
र फुल्न छाडेका छन् बेली–चमेली र बगमबेलीहरू
यसकारण,
हावामा सुगन्धहरू बहन छारेका छन्
बरु बहन्छन् मन्द पवनसँगै
स्यालहरूले ल्याएका सिनोहरूको दुर्गन्धहरू
कुहिएका जिउँदो–मानव लासहरूका गन्धहरू ।

एक टुक्रा कागजमा अटाएको
तिम्रो भ्यूटावरको नक्साले
विगहौँ जमिनमाथि आफ्नो कालो पाउ टेकेर
र आकाश कब्जा गरेर
फहराइरहेछ देश चाट्ने दलका झण्डाहरू ।

तिम्रो भ्यूटावर !
प्रकृतिको अनुपम लुटेर
गरिरहेछ बञ्जर भूमिमा रूपान्तरण
कृत्रिम स्वास फेरेर
आफूलाई बनाइरहेछ विश्वकै सभ्य वस्तु
किनकि
तिम्रो भ्यूटावरलाई
रातम्मै फुलेको फूल मन पर्दैन
नवपालुवा बोकेर आएको वसन्त मन पर्दैन ।

 

–दाङ–देउखुरी