स्याङ्जा विशेष !
१. स्वर्ग जाने बाटो
- (मिलन समीर)
हिँड्दाहिँड्दैको मूलबाटो
बाटोभित्रै हरायो !
म अचानक
आइपुगेँ जङ्गलमा !
घना जङ्गलमा
बाटो कहीँ नदेखेर
रुखहरू पनि रुँदै थिए !
अन्तिम विकल्प—
म अब खन्न थाल्छु
स्वर्ग जाने बाटो !!
२. सालिक
- (अनन्त अर्याल)
हामी
युद्धमोर्चामा सँगै थियौँ,
ऊ फर्केन
म एक्लै फर्केँ !
चौबाटोमा
उभियो उसको सालिक !
यतिबेला
सालिकमा अनुवाद भएको
साथीलाई देखेर
म सोचिरहेको छु—
सालिक हुनु त
पत्थरकै ठीक रहेछ !
कमसेकम—
पत्थरलाई भोक त लाग्दैन !
३. दुइटा कुकुर
- (अग्निकुमार रेग्मी पल्लव)
हाम्रो गाउँमा
दुइटा कुकुर छन्—
एउटा पाल्तु कुकुर छ
अर्को फाल्तु कुकुर छ !
पाल्तु कुकुर घरको बङ्गुरजस्तो छ
फाल्तु कुकुर वनको लङ्गुरजस्तो छ
कुकुर त दुइटै कुकुर नै हुन्,
तर एउटाले चिल्लो जिब्रो चाट्छ
विचरा ! अर्कोले र्याल काढ्छ !
जब हाम्रो गाउँमा बाघ पस्छ,
पाल्तु कुकुर
रुँदै घरभित्र लुक्छ !
फाल्तु कुकुर
बाहिरै बसेर जोडजोडले भुक्छ !
४. कुम्भकर्णको निंद
- (शम्भु अर्याल)
छोरा !
निंद कति मीठो हुन्छ है ?
आमाको न्यानो काख मीठो
कि बाबाको बलियो साथ मीठो ?
सुन् छोरा !
तँ कहिलेसम्म यसरी सुत्छस् ?
बाबू ! सुतेस् सकुनको निंद,
तर कहिल्यै नसुतेस्
कुम्भकर्णको निंद !
कुम्भकर्णको निंद
मृत्युभन्दा खतरनाक हुन्छ !!
५. जिन्दगीको पूर्णता
- (जीवनपानी)
रुखमा—
फूल फुलेका छन्
फल फलेका छन्
किनकि,
जरा जमिनभित्र गडेका छन् !
जिन्दगीको पूर्णता
विपरीतहरूको सङ्गम हो !
एउटा अघाएको जवान खरायोले
सायद जिन्दगीको पूर्णता बुझेछ !
नत्र किन ऊ
भोकाएको बाघ खोज्दै
हिँडिरहेको छ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।