अलका मल्ल

 

मान्छेहरू संग हिंड्न नजान्ने म मान्छे
खोला संगै बगिदिन कसरी सक्छु र !
मान्छेलाई रिझाउन नजान्ने म मान्छे
परिस्थिति संग बाजी मार्न कसरी सक्छु र !
मान्छेको आँखामा अटाउन नजान्ने म मान्छे
हावाको तुफान चित्रण कसरी गर्न सक्छु र !
मान्छे संग मन साट्न नजान्ने म मान्छे
ऋतु सरी बदलिदिन कसरी सक्छु र !
मान्छेहरुको भाषा नबुझ्ने म मान्छे
भावनामा बहकिन कसरी सक्छु र !
एक्लो हिंड्ने बानी परेको म मान्छे
मायाको अर्थ कसरी बुझ्न सक्छु र !
समयको झोक्काले उछिट्टिएको म मान्छे
बाढी संग संगै हुत्तिन कसरी सक्छु र !
लट्टाई बिनाको चङ्गा जस्तो म मान्छे
अंधेरो बाटोहरू कसरी हिंड्न सक्छु र !
हुरीले उडाइ ल्याएको म मान्छे
भुमरी संग लड्न कसरी सक्छु र !
बर्सातले निथ्रुक्क रूझिएको म मान्छे
घाम संग मितेरी लाउन कसरी सक्छु र !
बस्तीहरुको भिडमा हरएको म मान्छे
मान्छेहरूलाई रिझाउन कसरी सक्छु र !