छोरीले भनी
“बुवा !”
जब मैले थाहा पाएँ
बुवा पनि हुन्छ भन्ने
तब आमालाई सोधेथेँ
खै बुवा ? भनेर ।
तिमीलाई मैले
पसले अंकलको
टेलिफोनमा सुनेँ
कैले
घरबेटी अंकलको
टिलेफोनमा सुनेँ ।
तिमी एकाध वर्षहरुमा आयौ
केही चक्लेट र
केही जोर लुगा लिएर
अनी फेरि उस्तै
आँखाबाट अलप भयौ ।
जब तिमीसँग हात समाएर
बोल्न चाहन्थें
तिमी निरश मुस्कान लिएर
दूरबाट हात हल्लाउदै
फोनको स्क्रीनमा देखिन्थ्यौ ।
तिमी उसरी नै
एकाध वर्षहरुमा आयौ
मलाई के के
आदर्शहरु सुनायौ
मलाई
ती आदर्श भन्दा
तिम्रो मायाको खाँचो थियो
तिम्रो सामिप्यताको खाँचो थियो ।
बुवा !
जब तिमी घर बस्नेगरि आयौ
तिम्ले
मलाई अर्काको घर पठायौ
अब म
एकाध वर्षहरुमा आउँछु
पाहुना बनेर
जसरी
तिमी एकाध वर्षहरुमा
हामीलाई भेट्न आएथ्यौ
पाहुना जस्तो भएर ।
काखमा राखी मलाई
लोहरी सुनाउने बेला
मेरो हात समाइ
डोर्याउने बेला
औँलाहरु समाइ
कखरा सिकाउने बेला
तिमी कहाँ थियौ ?
भन
तिमीले मलाई के माया दियौ ?
भन
तिमीले मलाई किन छोडि गयौ ?
बाऊले केवल छोरीलाई सुनिरह्यो
नुर झुकाउँदै,
उस्को दुई नयनको खोल्सीहरुबाट
उर्लदैँ थियो सेती काली
बग्दै थियो त्रासादी कथा
जवाफ भने अमुक भएर
हेरी रहेथ्यो,
छोरीलाई अनी बाऊलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।