चिन्तन नेपाल

………………….
चिच्याउँदा चिच्याउँदै
आगोझैँ आक्रामक प्रश्नहरू
हजुर ! चिसा भइसके/निर्जीव भइसके

तथापी मेरो अपमानित इतिहासले
यसरी मलाई प्रश्नहरू ओकलिरहन बाध्य बनाउँछ–

ए धर्मान्ध छुत !
तिम्रा धर्मका पानाहरूमा बाहेक
कहाँ देख्यौ तिमीले
मान्छे पैतालाबाट जन्मेको अप्राकृतिक दृश्य?

परीका तिलस्मी कथाहरूमा
ढुङ्गो छोएर सुन भएजस्तो
कहाँ देख्यौ तिमीले
पानी छोएर मैले पत्थर भएको?

यद्यपी
जन्मैले छुत अछुत बनाउने
यी अप्राकृतिक व्यवस्थाक्रमहरूले
गैर-मानवको निर्मम सूचीमा राखेको
म त्यही कथित अस्पृश्य हुँ/शुद्र हुँ

अरे ! तिमी त
एक्काइसौँ शताब्दीको सभ्य मान्छे

प्राचीन ती
आदीवासी रामापिथेकसहरूको
असभ्य, अव्यवस्थित बस्तिमा
को थियो छुत? को थियो अछुत?

ए कथित छुत मान्छे !
तिमीसँग नभएको जवाफ मागेर
कतिपटक तिमीलाई नाजवाफ बनाऊँ?

आऊ, म तिमीलाई प्रेम गर्छु
मेरो प्रेमिल स्पर्शमा
कतै मूर्ति भैगएछौ भने तिमी
मेरो उत्पीडित आत्माको कसम
म कहिल्यै तिमीसँग प्रेम गर्ने दुस्साहस गर्नेछैन

त्यसैले ए छुत भनिने मान्छे
आऊ, हामी एउटा परीक्षण गरौँ
म तिमीलाई छोएर हेर्छु
आऊ, म तिमीलाई प्रेम गर्छु !