जाडो त 

तिनीहरुलाई हुनुपर्ने हो

जसले व्यवहारिक हुने बहानामा

नि:संकोच उतारे आदर्शको टोपी

धरधरी उधारे सिद्धान्तको स्वेटर

निर्दयता पूर्वक डम्प गरे नैतिकताको गलबन्दी

मालिकको सेवाको प्रतिस्पर्धामा दौड्दा दौड्दै

ठुस्लुक्क भांचे आफ्ना स्वाबलम्वी खुट्टा।

बदलामा निर्लज्ज पहिरिए

उपभोक्तावादी बजारले सुम्पिएको

गैडाको छाला जस्तो बाक्लो निर्दयता

अलिकति हिच्किचाएरै भएपनि

गलामा भिरे भूमण्डलीकरणको ठिमाहा पहिचान

बुझेर या न बुझेर

प्रवासी सुमन

या बुझी बुझी बुझ पचाएर पनि हुन सक्छ

सर्लक्क पहिरिए शिरमा बहुराष्ट्रिय कम्पनीको दलाली आदर्श

किच्च दांत देखाउदै समाए

आयातित सोच र संस्कारको बहुरंगी बैसाखी

भित्रभित्रै सर्वांग नांगिएर पनि

बाहिर भने गमक्क पहिरिएका छन् कृत्रिम अभिमानको मुखुन्डो

अन्तर्हृदयको उष्णता गुमाएकाहरु

जति नै पिए पनि उत्तेजनाको फेन्टासी

जति नै तापे पनि दाताको आगो

अहं तात्दैन तिनको शुष्क आंत।

जाडो त

तिनीहरुलाई हुनु पर्ने हो

जसले एक मुठी उज्यालो घोप्ट्याउन आफ्नो पोल्टामा

निर्दोष जनताको सिंगो जिन्दगी नै

अंध्यारो सुरुंगमा धकेल्न एक रत्ति हिच्किचाएनन्

जसले सहमति र सम्झौताको नाममा

चिसो पानी खन्याइरहे

समयको प्रगतिशील रापिलो चेतनामा

र स्थिरताको बांध लगाएर

रोक्ने भगीरथ प्रयत्न गरिरहे परिवर्तनको आवेगलाई।

ढुंगा भएर जम्न अभ्यस्त तिनका सोचहरु

सधैं सधैं चेतनाको आगो संग डराउछन्

सधैं सधैं परिवर्तनको छालसंग तर्सिन्छन्

दुनियां सहजै जान्दछ यो सत्य कि-

आंत नै चिसिएका दु:खी आत्माहरु

बाहिर जति न बाक्लो ज्याकेट पहिरिए पनि

सिंगै प्रचन्ड सूर्य सिनित्त निले  पनि

अहं, तात्दैन पाषाण भएर चिसिएको मुटु।

घोराही, दांग
हाल: टेक्सस अमेरिका