कवि अनामिकाको परिचय

कवि अनामिकाको जन्म १७ अगस्त १९६३ मा मुजफ्फरपुर बिहारमा भएको हो । दिल्ली विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य एम.ए., पी.एचडी. र डी. लिट. उपाधि हासिल गरेकी उनी दिल्ली विश्वविद्यालयअन्तर्गत सत्यवती कलेजको अङ्ग्रेजी विभागमा कार्यरत छिन् । उनका पोस्ट-एलियट पोएट्री : अ वोएज फ्रॉम कॉन्फ्लिक्ट टु आइसोलेसन (आलोचना), डन क्रिटिसिज्म डाउन द एजेज (आलोचना), ट्रिटमेन्ट अफ लव एन्ड डेथ इन पोस्टवार अमेरिकन विमेन पोएट्स (आलोचना), समकालीन अङ्ग्रेजी कविता (अनुवाद), पर कौन सुनेगा (उपन्यास), मन कृष्ण : मन अर्जुन (उपन्यास), प्रतिनायक (कथा सङ्ग्रह), समय के शहर में (कविता-सङ्ग्रह) प्रकाशित छन् । समकालीन हिन्दी कविताकी एक प्रतिनिधि कवि अनामिकाका कवितामा नारी संवेदनाका विविध अभिव्यक्तिलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने कौशल पाइन्छ । भाषान्तर कविताको यस शृङ्खलामा उनै कविका पाँच कविताहरूको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।

१. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- १

(जनम ले रहा है एक नया पुरुष- १)
अनामिका

सृष्टिको पहिलो बिहान थियो त्यो !
मलाई भनियो-
तँ धरतीको उज्यालो होस्
र मबाट खोसियो मेरो सूर्य !
भनियो मलाई-
तँ जुरेली होस् यस बगैँचाकी
र खोसियो मबाट मेरो आकाश
भनियो मलाई-
तँ पानी होस् सृष्टिको आँखाकी
र विवाह गरियो मेरो बालुवासित
सुकाइयो मेरो सागर !
भनियो मलाई-
तँ बिम्ब होस् सबैभन्दा सुन्दर
र फुटाइयो मेरो ऐना ।

सन्त कबीरको माटो जसरी होइन
स्थानीय कागज बनाउने सामग्री जसरी
मलाई माडीमैदान बनाइयो
कुनै प्रकार उभिएँ म
एउटा प्रतिमा बन्यो मेरो
थियो कोही जसले टिप्यो ऐनाका टुक्रा
र जडिदियो मेरो प्रतिमाका अङ्ग अङ्गमा
एउटा सिङ्गो ब्रह्माण्ड नै परावर्तित थियो
अब मेरा अङ्गप्रत्यङ्गमा
सूर्य जुन खोसिएको थियो मबाट
दौडिएर आयो फर्केर
अनि गम्लङ्ग अँगालो हाल्यो मलाई
आकाश स्वयम् एउटा चरा जसरी
उत्रेर आयो मेरा काँधमा ।

समयको समुद्र ‌ओच्छियो मेरा पैतालामा
पखालियो अब युगौँदेखको हिलो
अब व्यवस्थित थिएँ म
पूरै सृष्टि मेरो घर थियो अब
आफ्ना दश हातहरूले
एक घरेलु दुर्गा झैँ
गर्न थालेँ म घरका काम बाहिरका काम
भालामा बेरेँ कपडा मैले
र झार्न थालेँ धुलो
नियमका, वचनका, रीतिथितिका, मिथकहरूका
इतिहासको टेबुल पनि पुछेँ !
काटिदिएँ मैले महिषासुरका नङ
नुहाइदिएँ उसलाई र पठाइदिएँ अफिस
एउटा नयाँ सृष्टि अब
जुर्मुराइरहेथ्यो मभित्र !
***

२. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- २

(जनम ले रहा है एक नया पुरुष-२)
अनामिका

महाकाल सृष्टिको नवौँ महिना हो, छत्तिसौँ महिनाके
केही हलचल छ मभित्र
षड्यन्त्र हैन, हैन तन्त्रमन्त्र
तर निरन्तर छ हलचल !
बढिरहेछ भित्रभित्रै
जसरी बढ्छ नदी मुहानहरू पार गर्दै
घर होइन, न पर्खाल, छानो होइन
तर भत्किरहेछ केही मभित्र-
जसरी नयाँ इटाको आगमनसँगै
मानौँ खुसीले
गदगद हुन्छ भग्नावशेष
हेर यहाँ… ठिक यहाँ
नाभिको मध्य भागमा
उठिरहेको र बज्रिरहेको हतौडामुनि
निरन्तर केही भत्किरहे झैँ लाग्छ
फलामको एउटा पिण्ड जस्तो
केही ठोस र केही तरल
केही अर्वाचीन र केही नितान्त प्राचीन
हुर्किरहेछ मभित्र
केही सलबलाइरहेछ मभित्र
दुई दुई ओटा मुटु धड्किरहेछन् मभित्र
चार चार आँखाले
म जुधाइरहेछु आँखा
महाकालसित !
थर्किरहेछन् मेरा आवेगले सबै पर्वतहरू
धकेलिदिएकी छु तिनलाई आफ्ना गोडाले-
एकातिर मैले !
मेरो उछ्‌वासहरूले थर्थर कापेका छन् जङ्गल !
इन्द्रधनुषका सात रङहरूले
सजिएको छ यो ओछ्‌यान
जन्म लिइरहेछ एउटा नयाँ पुरुष
मेरा पातालहरूबाट…
नयाँ पुरुष- जो हुने छैन अतिपुरुष
क्रोध र कामनाका डरलाग्दो रोगबाट पीडित
स्वस्थ हुन् छन् उसका धमनिहरू
दृष्टि सम्यक हुने छ
अनावश्यक पुरुषभाषा बोल्ने छैन ऊ-
स्नेह-सम्मानले अनुरक्त चुम्बन गर्ने भाषा
बन्दुक-बम-थप्पड-धम्की-लट्ठीको भाषा
मेरा यी उन्नत पहाडहरूबाट
उदाउने छ जब दुधिलो प्रकाश
पिउने छ ऊ !
यो संसारको अँध्यारो
गाजल बनेर सजिने छ उसका आँखामा
हल्लिने छ सारा सृष्टि अब कोक्रो जसरी
र बिस्तारै बिस्तारै उभिने छ नयाँ पुरुष…
प्रज्ञाले शासित सम्बुद्ध अनुकूल,
प्रज्ञाप्रिय स्वामी,
तर यस पटक ऊ आउने छैन-
निदाइरहेकी प्रज्ञालाई वनमा छाडेर ।
***

३. जन्म लिइरहेछ एउटा नयाँ पुरुष- ३

(जनम ले रहा है एक नया पुरुष- ३)

अनामिका

मृत्युलाई के !
त्यो त गाउँकी केटी हो !
न अगाडि गोठालो न पछाडि पासो
काली माता जसरी खोलेर कपाल
घुम्छे ऊ यताउता
निस्फिक्री ।
एउटा ठुलो कुचो लिएर
हिँड्छे ऊ
र बढार्छे निहुरेर
कुशलतापूर्वक पूरै सडक
आकाश एउटा ठुलो बोरा हो
जसलाई बोकेकी छ उसले पिठ्युँमा
बढार्दाबढार्दै
थुचुक्क बस्छे ऊ-
कुनै पनि बेला कहीँ पनि
र हेर्दाहेर्दै
घेर्छन् उसलाई
यताउति खेलिरहेका
कुकुरका छाउरा र चल्लाहरूले
बुढीआमाहरू निकै माया गर्छन् उसलाई
भाँचिएका खाटमा
कुप्रिएको शरीर
र क्षतविक्षत मन लिएर
ओछ्‌यान परेका बुढीआमाहरू
बाँकी रहेको सासको पोको
र टुटेफुटेको एउटा मोबाइल
राखेर सिरानेमुनि
गर्छन् उसको प्रतीक्षा
ऊ आओस् खित्खिताउँदै
कतैबाट
लगाइदिओस् तेल जिउमा
लैजाओस् कतै !
उसका लागि छाडिदिन्छन् तिनीहरू
पिठोको एउटा डल्लो
निकै खरिने गरी सेक्छे ऊ
जीवनको रोटी !
बिस्तारै बिस्तारै चुँड्छे ऊ-
श्वासप्रश्वासको भुङ्ग्रोअगाडि
छरिएका
रोटीका टुक्राका गाँस
निधारमा उसका
पसिनाका थोपा त छन् अवश्य
गोलाकार
तर ऊ झर्न दिन्नँ तिनलाई तल
पुछिदिन्छे कुर्ताको छेउले
झन्डै पच्चिस पटक
हामीलाई बचाउने प्रयास गर्छे ऊ
हामी खस्नुभन्दा अगाडि नै !
निकै फुर्तीका साथ घुम्छे
यो सम्पूर्ण सृष्टिभरि
तपाईँकै छाया हो नि ऊ
बाँध्न सक्नुहुन्न तपाईँ उसलाई
हो, तर्न सक्नुहुन्छ तपाईँ सात समुद्र
तर नाघ्न सक्नुहुन्न आफ्नै छायालाई !
किन डराउनु !
त्यही त हो,
उ… त्यो-
मृत्यु नै त हो नि,
मृत्यु अर्थात् गाउँकी केटी !
***

४. ढोका

(दरवाजा)
अनामिका

म ढोका थिएँ एउटा
जति ढक्ढक्याइयो मलाई
उति खुल्दै गएँ म ।

भित्र आए आउनेहरू र देखे-
चलिरहेछ एउटा बृहत् चक्र-
चक्र रोकिनासाथ चल्छ चर्खा
चर्खा रोकिनासाथ चल्छन् कैँची-सियो
भनौँ न- चली नै रहन्छ
अनवरत केही न केही !

… र अन्त्यमा सबैमा चल्छ कुचो
बढार्दै ताराहरू
बढार्दै पहाड, रुख, ढुङ्गा-
सृष्टिका सबै टुटेफुटेका-छरिएका कसिङ्गर
एउटा डालोमा जम्मा गर्छे ऊ
मनको छानामुनि बनेको कोठामा ।
***

 

५. नाता

(रिश्ता)
अनामिका

केही थाहा थिएन उसलाई !
ऊसँग मेरो नाता मात्र यत्ति थियो-
हामी ग्राहक थियौ एउटै पसलेका
नयाँ छिमेकमा !
मभन्दा पहिल्यै बसेकी थिई ऊ त्यहाँ
चकलेटको भाँडासँग टाँसिएर
स्टुलको राजसिंहासनमा !
मभन्दा पनि धेरै
थाकेकी देखिन्थी ऊ
र पनि हाँसी ऊ !
न कुनै तर्क थियो त्यो हाँसोको
न कुनै व्याकरण
न सूत्र
न त अभिप्राय नै !
त्यो हाँसो थियो- ब्रह्मको ।
फेरि हात अघि सारेर उसले
मरो ओढ्नको फेर हातमा लिई
र तानेर मिलाई त्यसको धागो
जुन अड्किएर बसको कुनै काँटीमा
खुम्चिएको थियो आँखीभौँ जसरी ।
क्षणभरका लागि यस्तो लाग्यो-
उसका निहुरिएका काँधहरूसित
मेरो फुट्ला झैँ भएको टाउकोको
निकै पुरानो नाता छ- दिदीबहिनीको ।
***