पानी परेका दिन –
धरातलमा आकाश देखिन्छ
तर जुनसुकै घडी , बार , दिन , बखत त्यो आकाश हेर्नुपर्छ
अहँ ! धर्ती कहिल्यै देखिदैन
यहाँ नातासम्बन्धहरु पनि तेस्तै तेस्तैनै छन् ।
चुनाबताका हेर्नुपर्छ
नेता र जनता एउटै बर्गमा अटाउँछन्
राजा रजौटेहरु पनि खै कसरी हो सर्वहारा – निमुखा हुन्छन् ।
जब कुरा लिपुलेक र कालापानीको हुन्छ
जंग्गे पिल्लरको हुन्छ
नाकाबन्दी नियत र हेपाहा आचरणको हुन्छ
तब कुनै दुर दराजका सैद्धान्तिक पार्टी एक ठाउँ नबसी हुन्न
अलौकिक एकता देखिन्छ
के प्रजातान्त्रिक , के कम्युनिस्ट
राष्ट्रयताको झण्डा ओढ्ने एक-से-एक धुरन्धरहरु एकताको कुरा गर्छन् ।
धरलातलमा आकाश देखिएजस्तै
– देखिन्छन् अतिरन्जित ढङ्गले चलेका बैलगाडाहरु ,
कृष्ण र सुदामाको अवतारमा ।

रूपक

आसामी लेन्दार र साहु महाजनको अविवेकपुर्ण सम्बन्ध
कर्जा लिँदा दिँदा छर्लङ्ग देखिन्छ ।
देखिन्छ भाइ बन्धुरुमा नफरत – अंशबण्डाको त्यो साँझमा
दाजुभाइ बैरी बन्न बाध्य हुन्छन्
– बूढो रुखजस्तै बुबाको आवरण ढलेको दिन
मेरो आफ्नै आफ्नो भन्दै हाँसो छर्ने दाँत – लुछ्न थाल्छन्
त्योबेला लाग्छ उनिहरु मानव त रहन्छन् तर मानवता रहन्न ।
यस्तै हाडखोरे सम्बन्धले आज सृष्टि बिनास तिर लम्किसकेको छ
भदौरे झरी आजभोलि पुसमाघमा देखिन्छ
चैते हुरि कार्तिकमासमा चाचाहुई गर्दैहुन्छ
मान्छे पनि मान्छेको स्वरुपमा गिद्दको आहारमा आँखा लाउँछ
त्यसैले आज नर नारी कोहिपनी सुरक्षित छैनन् ।
चुरोट र सलाई एउटै प्याकेटमा आउँदैन
तरपनी हेर्नुस् त कस्तो अजबगजब सम्बन्ध छ – एकअर्काको
बिल्कुल नारी र पुरुषहरूको जस्तै
एउटाको आगो अर्कोले सहेर मात्र पुर्णता महसुस गर्ने
नत्र व्यर्थका सवालजवाफमा गहिराई कति नाप्न सकिएला
– कति नसकिएला
इन्ची टेप लिएर निस्किएका दिन
– हाम्रो आफ्नै छायाँ हत्केल भर नरहन सक्छ
वा हत्केला भर – सम्बन्धका अस्तु मात्र रहन सक्छन्
त्यसैले बिन्ती छ छातिको धरातलबाट आकाश हटाइदेउ
सम्बन्धका बजारमा मलाई निलामिको बस्तु हुनुछैन ।
एकदिन त छायाँले छायाँलाई कसो नसोध्ला
आजको युगमा मान्छे कति गहिराइमा पुरिएको छ भनेर ।
गौरादह -१ , झापा