घरको आँगन अनि
त्यो तुलसाको मोठ
एक बिहानै फुस्रो पारेर पोतेको
दुई कल्ली पराल अनि
वरपर जौ तिलका दाना।
भत्कन लागेको उक्किएको
तुलसी सुकेर झर्न बाँकी
हिजो त रातै थियो
आज फुस्रे छ त्यो तुलसा मोठ
मेरो बुबाको अवस्थाजस्तै।
कोही हतार हतार हरियो बाँसको
खटिया बनाउँदै छन्
त कोही राम नामी खोज्दै
कोही चारधामको जल
अनि
कोही चन्दन घोट्दै छन्।
मेरो आँखाअगाडि

यी सब दृश्य देखेको छु

सुरेन्द्र रजौरा

तर खै अचेत अवस्थाजस्तो
सबै प्रस्ट भए पनि
धमिलोजस्तो
आँखामा तुवाँलो लागेकोजस्तो
आँखा उघ्रेको तर
मन अन्धकारमय छ।
घरभित्र कोलाहल छ
सँगसँगै नारायण गुन्जिँदै छ
अनि म,
म भने मौन शान्त
निर्जीवजस्तो ।
खाली त्यो तुलसा मोठमा
अब त बुबालाई सुताइयो
फूल माला अबिर केसरी
चन्दन पीताम्बर आदिले शृङ्गारियो
ओठमा मन्द मुस्कान
सेता दाँत एक लहर देखिएको
हेर्दा शान्त योगी तपस्यामा लीन भएकोजस्तो
मेरो बुबा।
आज दिन पनि कति मधुरो
चर्को घामले पनि
अहँ! पोलेन मलाई
म भावविभोर छु
एक्लोपना महसुस गर्दै
आँखाबाट झर्न नसकेको
मेरो मनको बह
अनि
अचेत मेरो मन।।
बाँसको खट फूलमालाले सजिएको
धानका लाजा अनि अबिर
सँगै केही टिला
अनि शङ्ख ध्वनिका साथ
यात्रा आर्यघाटको ।।

 

सूर्यविनायक ०३ बालकोट भक्तपुर