विजयिता भण्डारी

 होइन रहेछ कोपिला फूल हुनु
परिवर्तन
अहँ
होइन रहेछ
नयाँ वर्षको नाममा भित्ताको
पात्रोहरू फेरिनु
परिवर्तन
कसरी मानौँ
रात परेर बिहान हुनुलाई
परिवर्तन
जबसम्म सपनाले
निदाउन दिँदैन
समयले सही समय दिँदैन
उस्तै उस्तै लाग्ने रहेछ
रातजस्तै  यी दिनहरू
उस्तै उस्तै लाग्दो रहेछ
रङ्गीबिरङ्गी फूलहरूले एकै फूलझैँ
उस्तै लाग्दो रहेछ
हरेक नयाँ बिहानीहरू
यी आँखाहरूले देखेको एक क्षितिज
अनि आमाको सर्वस्व  बोकेर
रित्तो भएको मन
सबै सबै साक्षी राखेर
कर्तव्य र जिम्मेवारीको भुमरीभित्र
 हराइरहेको म
अभावहरूसँग पाँठेजोरी खेल्दै
खोजिरहेछु नयाँ बर्ष
आफैँभित्र एक सिङ्गो
परिवर्तन ।।