आसिक छेत्री (दार्जीलिङ)

माथिबाट खसेर

उचाई नाप्न खोज्ने दाना

कसैले कुल्चुन सक्ने

किराले खाएर

कुहुन पनि सक्ने

बिस्तारै उचाई र गहिराईको

सन्तुलन बुन्दै

महत्त्वकाङ्क्षाहरूको

एउटा सिटा, दुई पात

आकाश ताक्दै छ

चरुवा जन्तुको

आहार पनि हुन सक्ने

ठाडो उभिएको पौधा

धर्ती खाएर

आकाश ताक्दै छ

समय बिते

जवानीका थुप्रै टुसाहरू

बसन्तमा पौलाए

आकाश छुने आकाङ्क्षा भने

हर मौसम मौलाए

तर ए रूख !

भौतिक आकाश तिमी किन छुनू?

तिमीले त

स्वर्ग काखैमा जन्मायौ

मान्छेलाई बुद्ध बनायौ

तर साथी,

हामी त्यस्तै

सम्भावनाका रूखहरू काटी

क्रुस बनाई

फेरि अर्को शान्ति दूतलाई

नटागौँ II