happy chinese new year red background

त्यो समय थियो
खोला खेतमा चैते धान रोपी सकेर
सिङ्गै गाउँ, जब गाउँ फर्कन्थ्यो
अनि नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
माटो भिज्ने गरी पानी परिसकेपछि
प….रको खरबारीमा, जब खरका बुच्काहरू
एक बित्ताका हुन्थे
अनि नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
दसैँको टीका जमरा भुईँमा नखस्दै परदेशिएकाहरू
कोइला खातबाट कोइलाजस्तै भएर आएपछि
नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
त…ल तारेभिरमाथि ठिङ्ग उभिएको सिमलले
आफ्नो अन्तिम भुवाहरू उडाइसकेपछि
नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
सङ्खाम डाँडामा सिङ्गै डाँडा रङ्ग्याएर
गुराँसले आफ्नो जवानी उरालेपछि
नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
ट्याम्केको थाप्लोमाथि गुँड बनाएर बसेको हिउँ
पग्लिएर अरुणमा मिसिएको महिना दिनपछि
नयाँ वर्ष आउँथ्यो

त्यो समय थियो
कर्‍याङ्कुरुङका अनौठा र तमास हुलहरू
आकाशको भुईँ ढाकेर हिमालतिर बतासिएपछि
नयाँ वर्ष आउँथ्यो

अर्थात्
जब समयको कल्की सङ्घारमा ठोकिन्थ्यो
त्यो नयाँ आभा र नयाँ उमङ्ग लिएर
अनि नयाँ वर्ष आउँथ्यो।

तर अचेल
ज्याँबिरेदेखि बतासेसम्म चिँमुसी चिँ खेलेजस्तै
धान पराल बोक्नेहरुको लस्कर छुटेपछि

खोला बगरसम्मै सुनौलो धान फल्ने खेत
सिरुघारी भैसकेको खेतधनीलाई नै पत्तो नभएपछि
बर्खाभरी घाँस चोर्ने र बेलाबेला बाख्रा चराउने खरबारी
बनमाराको साम्राज्यमा हराइसकेपछि
नयाँ वर्षको छेउछाउ फक्रने लालीगुराँस
दुई महिना पहिल्यै ओइलाउन थालेपछि

न त
सिमलको भुवा पच्छ्याउनेहरू नै रहे सिमलको फेदमा,
न त
गुराँसको लाली चोरेर गालाभरि दल्ने बैँसालुहरू नै,
न त
परदेशीहरू घर फर्किँदाको विजित उमङ्ग नै बाँकी रह्यो
न त
कर्‍याङ्कुरुङ्हरू बसाइँ सर्दा काँक्रा फर्सी रोप्ने आमाहरँ नै !

यी सबै-सबै छुटेर
सिङ्गै गाउँ सहरतिर बसाइँ सरेको थुप्रै भयो
गाउँसँगै नयाँ वर्ष पनि उतै गैइसकेछ !

त्यसैले अचेल
नयाँ वर्ष त
हप्तौँ पहिला नै आइसक्दो रहेछ,
पार्टी प्यालेस, रेस्टुरेन्ट अनि ठूला गेट टुगेदरहरूमा,
हस्याङ्फस्याङ् गर्दै भौँतारिरहेका मान्छेहरू!
नयाँ वर्षको खोजीमा
आफैँ आफ्नाहरूबाट हराउनुमा आउँदो रहेछ।

गाउँ सम्झेर नोस्टाल्जिक हुने वयस्कहरूको
आँखाको डिलभरि देखिँदोरहेछ,
आफ्नो र आफ्नाहरूको भविष्य खोज्दै
पराइ भूमिमा सपना उधिन्नेहरुको
ऐँठन बनेर आउँदोरहेछ !

यथार्थमा
बार्‍ह महिनाको सुन्दर पृष्ठभूमि राखेर
सबै-सबैलाई देखाउन,
समयको सङ्घारमा उभिएर
ङिचिक्क हाँस्दै खिचिक्क सेल्फी खिच्नु
यही नै त रहेछ खास नयाँ वर्ष
!

लौ है कान्छी, नयाँ वर्षको शुभकामना !

दिलिप बान्तावा