सुरेन्द्र गौतम

पक्कै पालुवा पलाउनेछ, साथी,
नयाँ आसा र उमङ्ग अङ्कुराउनेछ,
कलुषित सोच र परम्परालाई पुनः
समयले धोई पखाल्ने छ ।

मानवीय संवेदना र भावना पुनः एकपटक
समयको गतिले सिन्चिनेछ ।
वसन्तको नयाँ पुष्प सुवाससँगै
प्रेम र सद्भावको पाञ्चजन्य बज्नेछ,
नव वर्षले पुनः
सभ्यताको नूतन मार्ग कोर्ने छ ।

प्रकृति फेरि पनि खिलखिलाउँदै उठ्नेछिन्,
सृष्टिको काया पुनश्च
अन्तस्करणदेखि भर्भराउदै मौलाउनेछ ।
नव वर्षले अन्ततः
आर्तहरूमा मुस्कान भर्नेछ ।