साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

निरकमल दाहालका दुई कविता

निरकमल दाहाल

 कविता १.

    ~~~ चिसो पृथ्वी ~~~
पृथ्वी जहिले सुनसान रहन्छ ।
चुपचाप ट्वाल्ल परेर हेरिरहन्छ
आकाश गर्जेको
पानी बर्सेको
असिना झरेको….
यस्तै के-के…. ।।
त्यसैले बेला बेला
भुईँचालाले घच्याक्क परेर
झस्काउँदै गर्छ पृथ्वीलाई।
अनि झनक्क झन्किन्छ पृथ्वी।
के-के गर्छु भन्छ
हत्तेरिन्दै सम्हालिन खोज्छ।
तर सम्हालिन खोज्दा खोज्दै
चिसो भएर सेलाउछ छपक्क पृथ्वी…. ।
कविता २.
~~~खोज~~~
तपाईँ खोजेर नभेटेपछि छैन भनेर भन्नुहुन्छ।
तर छैनमा नै छ,
फेरि खोज्नुहोस् त!
तर…
अब भने आँखा बन्द गरेर खोज्नू।
छामछाम-छुमछुम पनि नगर्नू।
सुगन्ध पनि नलिनू।
मनमनै महसुस गर्नू
पक्कै भेटिन्छ।
पुगेर भेट्नलाई दौडिनु हुन्छ।
दौडिन्दा त लडिन्छ।
सुस्तरै हिँड्नुहोस्
पक्का पुगिन्छ
अनि
पक्कै भेटिन्छ।
पुगेर भेटेपछि
मनका व्यथाहरू
डाको छोडी रोएर पोखिदिनुहोस्।
प्रतिक्रिया
Loading...