कविताः सम्बन्ध


डोरी चुँडिएर
सकिन लाग्दा
बाँकी रहेको
एक,
सरो धागो
जस्तै त छ, तिम्रो र मेरो सम्बन्ध
न
अब
तिमी
ति दुई टुप्पोलाइ
गाँठो बनाउने प्रयास नै गर्न सक्छौँ।
न त,
म
तिमीबाट चुँडिएर नै जान सक्छु।
पा……री
भन्ज्याङका
ती
दुवै
बर, पिपल
ढले
जहाँ मैना चराले
प्रेमको गुँड बनाउने गर्थे।तिमीलाई
याद त छ नि है
ती दुवै मैना फरक-फरक
दिशा तर्फ को..षै दुर
उडान भर्थे
तर
तर
जब झमक्क साँझ…… पर्थ्यो
ती दुबै मैना
जहाँ गए पनि
सँगै फेला पर्थे।
सम्बन्ध पनि त
छुट्टिएर गएका
ती मैना जोडीको
जस्तै त छ ।फरक यत्तिमात्र त हो।
हामीले
नक्कल गर्न सकेनौँ।
खैर
ती भन्ज्याङको बर पिपल पनि
तिमी र म जस्तै त रहेछन्:
धोद्रो;
आखिरमा
ढलेर गए पनि
ती
बर अनि पिपल
तिनका जरा भने
अझै चुडिएका छैनन्।
